तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

दमौली-नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् ।

भ्रमण वर्षलाई लक्ष्य गरी तनहुँका केही स्थानीय तहले पूर्वाधार निर्माण गरिसकेका छन् भने केहीले दीर्घकालीन रुपमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणलाई जोड दिएका छन् । तनहुँका दशै वटा स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल, दृश्यावलोकन केन्द्र, शिशाको दृश्यवलोकन स्तम्भ लगायतका संरचना निर्माण गर्ने योजना अगाडि सारेका छन् ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको बन्दीपुरमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणका लागि गाउँपालिका लागिपरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउनुहुन्छ ।

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमीनको सतहबाट ५ फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

‘दृश्यावलोकन स्तम्भ’ मा दुरबीनको समेत व्यवस्था मिलाइनेछ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को अहिले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण भइरहेको छ । डिपिआरको काम सकिने बित्तिकै टेण्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिनुभयो । बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले ‘दृश्यावलोकन स्तम्भ’ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । यहाँ रहेका पुराना घरहरुका कारण पनि विदेशीहरु आकर्षित हुने गरेका छन् ।

पोखरादेखि ७४ किलोमिटर र काठमाडाँैदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर लगायतका स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button