शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
भीमदत्तनगर-विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताउनुभयो ।
प्रमुख संरक्षण अधिकृत पौड्यालले रासससित भन्नुभयो, “चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भयो ।” रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो ।
हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्