तपाईँ सुन्दै हुनुहुन्छः

परिष्कृत लोकतन्त्रपछि मात्रै समाजवाद आउँछः नेता खनाल

केशव ढुंगाना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको संरक्षण र विकासबाट मात्रै संविधानले कल्पना गरेको समाजवादी शासन व्यवस्था सुनिश्चित गर्न सकिने बताउनुभएको छ ।

विश्व ट्रेड युनियन महासंघ समन्वय कमिटी नेपालले आज काठमाडौमा आयोजना गरेको विचार गोष्ठीमा वरिष्ठ नेता खनालले लोकतन्त्रको परिमार्जन र परिष्कारबाट मात्रै समाजवादी व्यवस्था स्थापना गर्न सकिने बताउनुभयो ।

नेता खनालले नेपालीको दशकौं लामो संघर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्रको संरक्षण र परिमार्जन बाट मात्रै नयाँ उपलब्धी प्राप्त गर्न सकिने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनालले लोकतान्त्रको सुदृढीकरणका लागि राजनैतिक दलहरूले राष्ट्रियता बलियो बनाउने, उच्च आर्थिक विकास हासिल गर्ने, सबैको प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका कामहरू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुषालले सामाजिक रूपान्तरणका लागि देशभित्र रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्नुपर्ने बताउनुभयोे ।

मन्त्री भुषालले अनुत्पादक क्षेत्रको लगानी निरूत्साहित गरी रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादनमा प्रत्यक्ष योगदान गर्ने क्षेत्रमा मात्रै सरकारको लगानी केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button