तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी विर्तामोडद्वारा परिवार नियोजन संघलाई अल्ट्रासाउण्ड मेशिन

भद्रपुर । रोटरी क्लव अफ विर्तामोडले परिवार नियोजन संघ झापालाई दुईवटा अत्याधुनिक अल्ट्रासाउण्ड मेशिन उपलब्ध गराएको छ ।

रोटरी डिस्ट्रिक्ट ३२९२ को ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तर्गतको सामाजिक कार्यक्रमअनुसार ४५ लाख ४४ हजार मूल्य बराबरको पोर्टेबल अल्ट्रासाउण्ड मेशिन संघलाई प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले जानकारी दिनुभयो ।

संघ परिसरमा शुक्रबार आयोजित संक्षिप्त समारोहका बीच रोटरीका डिस्ट्रिक्ट एसिस्टेन्ट गभर्नर भैरव रिजालले ती सामग्री संघका अध्यक्ष केदार गिरीलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले रोटरी सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएकोले देशभरि विभिन्न क्षेत्रमा सेवामूलक कार्य गर्दै आएको बताउनुभयो ।

विर्तामोड रोटरीका पूर्व अध्यक्ष मीनप्रकाश मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा रोटरियन आमोद आचार्यले ग्लोबल ग्राण्ड प्रोजेक्ट बारे प्रकाश पार्नुभएको थियो भने रोटरियन कुमार गिरीले यसै वर्षभित्र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोगका थप कार्यक्रमहर पनि रहेको जानकारी दिनुभयो ।

गाउँ–बस्तीका विपन्न महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको अल्ट्रासाउण्ड मेशिन बढी रुपमा गाउँ–वस्तीमै उपयोग गरिने संघकी प्रवन्धक सुजन काफ्लेले बताउनुभयो । उहाँले संघले गाउँ–वस्तीमा महिलालक्षित प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरहरु सञ्चालन गर्दै आएको बताउँदै यी मेशिन ती शिविरमा पनि प्रयोग गरिने जानकारी दिनुभयो ।

संघलाई मेशिन उपलब्ध गराउन रोटरियनसमेत रहनुभएका संघका अध्यक्ष कदार गिरीले १० हजार डलर सहयोग गर्नुभएको छ भने नेदरल्याण्डको हिन्स्टेड बेनब्रुक रोटरी, रोटरी डिस्ट्रिक्ट ३२९२ र विर्तामोडका रोटरियनहरुले पनि आर्थिक सहयोग गरेको रोटरी विर्तामोडकी अध्यक्ष गिरीले बताउनुभयो ।

उहाँले निकट भविष्यमै विर्तामोड नगरपालिकाको सहकार्यमा स्थानीय स्वास्थ्य चौकीलाई मिगौलासम्बन्धी उपचारको लागि केही डाइलासिस मेशिन उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरियन कुमार गिरी, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, रोटरी सुंगाका अध्यक्ष कुमारमणि पोखरेल, संघका पूर्व सभापति दिपेन्द्र ढकाल, नाराण ढुंगाना, कृष्ण दाहाललगायतको उपस्थिति रहेको विर्तामोड रोटरीका बोर्ड अफ डिरेक्टर प्रकाश शिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button