तपाईँ सुन्दै हुनुहुन्छः

लेखनाथ पत्रकारिता पुरस्कार राससकर्मी पौडेललाई

पोखरा-लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याउने सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई रु ११ हजार १११ नगद र सम्मापत्रबाट सम्मान गरिँदै आइएकामा यस वर्ष पौडेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष भीमपाणि बरालले जानकारी दिनुभयो ।

मञ्चका अध्यक्ष बराल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, सल्लाहकार भरतप्रसाद तिवारी रहेको समितिले यस वर्ष पौडेललाई उक्त पुरस्कारका लागि छनोट गरेको हो । विसं २०६३ देखि निरन्तर राष्ट्रिय समाचार समितिमा आबद्ध पौडेल राससबाट दुई पटकसम्म वर्ष उत्कृष्ट आलेख समाचारबाट सम्मानित भइसक्नुभएको छ ।

उहाँ दहचोक एकता क्लब सम्मान– २०६९, कङ्कालीमाई विकास सरोकार केन्द्र सम्मान–२०७०, संसारी युथ फाउण्डेशन सम्मान–२०७२, प्रथम चन्द्रागिरि महोत्सव सम्मान–२०७४, बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सम्मान–२०७५, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७५ बाट सम्मान, अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०७६ र क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button