तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरु

सुर्खेत । कर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको आधुनिक प्रविधिमैत्री ‘भर्चुअल सिकाइ’ कक्षा सञ्चालन गरेको हो ।

नगरका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले नगरपालिका कार्यालयमा रहेको कन्ट्रोल रुमसँग इन्टरनेट जडान गरिएका स्कूलहरुमा एकसाथ कक्षा १० को अङ्गे्रजी, गणित र विज्ञान विषय पढाउन थालिएको बताउनुभयो । उहाँका अनुसार ती विद्यालयमा अध्ययनरत ७०० विद्यार्थीलाई लक्षित गरी ‘भर्चुअल’ विधिद्वारा शिक्षण गराइएको छ । नगरपालिकाले सिकाइ उपलब्धी प्रभावकारी बनाउन कक्षाकोठामा इन्टरनेटका साथै टेलिभिजन, कम्प्युटरलगायतका उच्च प्रविधियुक्त शैक्षिक सामग्रीको व्यवस्था पनि गरेको छ ।

नगरपालिकाकाले पहिलोपटक शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानीचौर, जनज्योति मावि झिङ्नी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लोदेमा यस्तो सिकाइ शुरुआत गरेको छ । उपसचिव शर्माले भर्चुअल सिकाइले शिक्षक व्यवस्थापनमा ठूलो मद्दत पुगेको बताउनुभयो । “लोदे र थानीचौरमा माध्यमिक तहको दरबन्दी शुन्य छ, यस्तो अवस्थामा हाम्रो कन्ट्रोल रुमबाट शिक्षकले सेसन सञ्चालन गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “दक्ष एवं विषयगत शिक्षकको अभावको समस्या हट्नुका साथै विद्यार्थीको गुणस्तरमा पनि सुधार आउनेछ । नगरपालिकामा उपस्थित हुन नसक्ने शिक्षकले जुनसुकै विद्यालयमा पुगेर पनि एकैपटक शिक्षण गराउन सक्नेछन् ।”

भर्चुअल सिकाइले शिक्षक र विद्यार्थीबीच दोहोरो संवादको वातावरण सिर्जना गर्दछ । “जुनसुकै सेसनको विद्यार्थीले पालैपालो कन्ट्रोल रुमका शिक्षकलाई सोध्न सक्नेछन्, एउटा सेसनको विद्यार्थीले अर्को सेसनका विद्यार्थीको सिकाइका साथै पोशाक, अनुशासनलगायतका बारेमा बुझ्ने मौका मिल्नेछ, त्यस हिसाबले यो अहिलेसम्मकै आधुनिक र स्तरीय प्रविधिको शिक्षण सिकाइ हो,” उपसचिव शर्माले भन्नुभयो । दोहोरो संवादसहितको भर्चुअल सिकाइ शुरु गरिएको सम्भवतः नेपालकै पहिलोपटक भएको उहाँको जिकिर छ ।

नगरपालिकाको चालू आर्थिक वर्षको रु। १६ लाख ५० हजार बजेटबाट भर्चुअल सिकाइ शुरुआत गरिएको हो । नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले विद्यार्थीहरुको सिकाइलाई अब्बल बनाउन कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विद्यालयको गुणस्तर सुधार गर्न, शिक्षण व्यवस्थापन सहयोग गर्न र कक्षाकोठालाई आधुनिक प्रविधिमैत्री बनाउन यस्तो विधिको शुरुआत गरिएको छ, यसलाई उपलब्धीपूर्ण गराउन प्रधानाध्यापकको विशेष भूमिका रहनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button