२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ

रेडियो नेपाल २०७६ पुष ९ गते १९:५४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई आज ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग आठ हजार ५०० घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ ।

निजले कार्यालयसँग सम्बन्धित सूचना–विज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ ।

आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको रु दुई हजार घुससहित नियन्त्रणमा लिएको छ ।

उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

सम्बन्धित