तपाईँ सुन्दै हुनुहुन्छः

च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न माग

काठमाडौं । नेपालमा अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न च्याउ उत्पादक किसान सङ्घले सरकारसँग माग गरेको छ ।

नेपालमा च्याउ खेतीका वारेमा जनचेतना अभिवृद्धि, च्याउ खेतीको विस्तार र तरकारी रुपमा प्रयोग बढाउन बुधबारदेखि शुरु भएको मेची महाकाली यात्रा को क्रममा संघले त्यसतो माग गरेको हो ।

बुधवार बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभयो ।

देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताउनुभयो ।

यात्राको क्रममा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरूसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहजरुपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने संघले जनाएको छ ।

सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापनाका लागि नीति बनाउन दबाब सिर्जना गर्नका लागि यात्राकै क्रममा पहल गरिने सङ्घका सहअध्यक्ष चित्रराज तिम्सिनाले बताउनुभयो । यात्रा पुष २९ गते डडेलधुरा पुगेर सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button