तपाईँ सुन्दै हुनुहुन्छः

हेमबहादुर मल्ल सम्मान घिसिङ र रुइतलाई प्रदान गरिने

साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक वर्ष २०७३–७४ को हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने उक्त सम्मान आगामी शुक्रबार घिसिङ र रुइतलाई प्रदान गर्न लागिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्लको सम्झनामा स्थापित दुई लाख राशिको उक्त सम्मान २०७३ बाट कुलमान घिसिङ र २०७४ बाट डा. सुन्दुक रुइतलाई सम्मान गर्न लागिएको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

२०५९ सालमा स्थापना भएको सोे सम्मान यस अघि राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न १३ जनालाई प्रदान गरिसकिएको छ ।

२०७३ सालको हेमबहादुर मल्ल सम्मानका लागि नेपालमा लामो समयदेखिको लोडसेडिङ समस्या समाधान गरी मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई र २०७४ सालको हेम बहादुर मल्ल सम्मानका लागि आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखा विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई छनौट गरेको सम्मान छनौट समितिका संयोजक पूर्व सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिनुभयो ।

हेमबहादुर मल्ल २०२० सालमा साल्ट ट्रेडिङको सेवामा प्रवेश गरी २५ वर्षसम्म महाप्रबन्धक नै रहेर संस्थानको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

इमानदार, परिश्रमी, कर्तव्यनिष्ठ, शिष्ट, नरम एवं हक्की स्वभाव भएका मल्ललाई रेलमोडल प्रशासक तथा व्यवस्थापकको रुपमा साल्ट ट्रेडिङ र नेपाल जन प्रशासन संघले व्याख्या गर्ने गरेका छन् ।

हेमबहादुर मल्ल सम्मानको रकम साल्ट ट्रेडिङ कर्पोरेशनले बहोर्ने र सम्मानको छनौट गर्ने काम नेपाल जनप्रशासन संघले गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङ करपोरेशनका महाप्रवन्धक उर्मिला श्रेष्ठले करपोरेशनले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको व्यापार गर्नुका साथै खाद्यान्न तथा कृषि क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

त्यसै गरी नेपाल जनप्रशासन संघका अध्यक्ष डा हिरामणि घिमिरेले संघले २ वर्षको हेमबहादुर मल्ल सम्मानको लागि व्यक्ति छनौट गर्न पूर्व सचिव कृष्णहरी बाँस्कोटाको संयोजकत्वमा समिति गठन गरेको र संघले जनप्रशासन र सार्वजनिक प्रशासनका क्षेत्रमा विभिन्न अन्ुसन्धान र खोजका काम गर्दै आएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button