तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालको निर्यात व्यापार सन्तोषजनक’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ ।

यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ ।

चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको छ ।

भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकको आर्थिक वर्ष २०७६–७७ का चार महिनाको वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७६–७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button