तपाईँ सुन्दै हुनुहुन्छः

पयर्टन वर्ष मनाउने बाँकेका सातवटा स्थानीय तह भव्य तयारी गर्दै

बाँके। पर्यटन वर्ष २०२० मनाउने भव्य तयारीका साथै बाँकेका सातवटा स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरेको हो । पर्यटकीय गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षमा बनेको समितिले बाँकेका सातवटा स्थानीय तहका पर्यटकीयस्थलको सूची तयार गरेको हो ।

नरैनापुर गाउँपालिकाबाहेक सात स्थानीय तहले पर्यटकीयस्थल समितिसँग प्रस्ताव गरेका थिए । “नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, खजुरागाउँपालिका गौघाटस्थित झलुङ्गे पुल नजिकका लागि गुराँस सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टेलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेका हौँ”, गन्तव्य पहिचानका लागि गठित समितिका संयोजक शाहले भन्नुभयो, “जानकी गाउँपालिकाको जोगागाउँस्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई सूचीमा समावेश गरेका छौँ ।”

डुडुवा गाउँपालिकाको कमरशा बाबाको मजार, कोहलपुर नगरपालिकाअन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरिएको शाहले जानकारी दिनुभयो । यसैबीच नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा रहेको समितिले पहिचान गरिएका स्थानीय तहका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नका लागि सुझाव सङ्कलन गर्न अन्तत्र्रिmया आयोजना गरेको संयोजक शाहले जानकारी दिनुभयो ।

“पहिचान भएका गन्तव्य प्रवद्र्धनका लागि प्रचार सामग्री प्रकाशन गर्ने तयारी भइरहेको छ”, समितिका सदस्य शाहले भन्नुभयो, “जिल्लामा भ्रमण वर्ष सफल पार्न विभिन्न पाँचवटा उपसमिति बनाएका छौँ ।” त्यसका लागि २७ सदस्यीय समिति रहेको समितिले पाँचवटा विभिन्न उपसमिति गठन गरी उपसमितिमार्फत तयारी गरिरहेको समितिका संयोजक अजय श्रीवास्तवले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

भ्रमण वर्षको अघिल्लो दिन डिसेम्बर ३१ मा बाँकेमा पर्यटन वर्ष शुभारम्भको कार्यक्रम आयोजना गरिनेछ । “भव्य आतसबाजीसहित अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतलाई नेपाल भ्रमण वर्षको स्वागतका रुपमा नेपालगञ्जको होटल सिद्धार्थ परिसरमा औपचारिक कार्यक्रम गरिनेछ”, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले पर्यटकहरुलाई स्वागत गर्नका लागि समिति संयोजक श्रीवास्तवको नेतृत्वमा भारतका मुख्य शहरहरुमा जाने निर्णयसमेत गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button