तपाईँ सुन्दै हुनुहुन्छः

रानीतलाउ र महेन्द्रपार्क पर्यटकको गन्तव्य बन्दै

नेपालगञ्ज। नेपालगञ्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताउनुभयो । उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनःनिर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।

यसैगरी नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्रपार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यस पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्नथरिका चरा पाइन्छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेरअनुसार उपमहानगरपालिकाले पनि यहाँको पर्यटकीयस्थललाई आकर्षक बनाउने कार्य शुरु गरिसकेको नगर प्रमुख राणाले बताउनुभयो ।

नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उहाँको भनाइ छ ।

संरक्षणको पर्खाइमा ऐतिहासिक विद्यालय

नेपालगञ्जको पुरानो ऐतिहासिक युद्ध संस्कृत विद्यालय संरक्षण र सहयोगको पर्खाइमा रहेको छ । शिक्षक नारायण शर्माका अनुसार, यो विद्यालयमा झण्डै ८० प्रतिशत विद्यार्थी अरुको घरमा काम गर्न बसेका बालबालिका हुने गरेकाले पनि बेवास्तामा पर्ने गरेको छ ।

विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालयमा शिक्षकको अभाव भने छैन । जेनतेन चलेको यो विद्यालय गैरसरकारी संस्थाको आँखामा समेत पर्न नसकेको शिक्षक शर्माको भनाइ छ । विसं १९८६ मा स्थापना भएको यो विद्यालयमा शुरुमा संस्कृत विषय पनि पढाइ हुने गथ्र्यौ । विसं २०५६ बाट भने साधारण विद्यालयमा रुपान्तरण गरिएको हो । विद्यालयमा अहिले करिब २०० विद्यार्थी अध्ययनरत छन् । जसमध्ये अधिकांश विद्यार्थी काम गर्न बसेका घरबाट पढ्न आइरहेको शिक्षक शर्माले बताउनुभयो ।

विद्यालयमा शुद्ध पानी पिउने व्यवस्था छैन । विद्यालयको तीन वटा कोठा जीर्ण अवस्थामा छन् भने प्रावि तहमा एक जना शिक्षकको अपुग छन् । विद्यार्थी भर्नाका बेलामा सबै अभिभावक बालबालिकाको हात समातेर आए पनि भर्ना गरिसकेपछि बोलाएको बेलामा एकदमै कम विद्यालयमा उपस्थित हुने गरेको प्रधानाध्यापक दिलीपकुमार श्रीवास्तवको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button