तपाईँ सुन्दै हुनुहुन्छः

जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी

भरतपुर। काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ ।

चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र पनि हो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्र भएका कारण पनि यहाँ तीव्रगतिका कारण दुर्घटना हुने गरेको छ ।

बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० प्रहरी थप्नुपर्ने माग जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीको छ । “जनशक्ति कम नभए पनि सबै क्षेत्रमा सिसीटिभीको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले पनि दोषीको पहिचान गर्न सहज हुन्छ ।”

सिसीटिभी नहुँदा कतिपय दुर्घटनामा दोषी फरार हुने गरेका उहाँले बताउनुभयो । गिरीले ट्राफिकको आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको बताउनुभयो । कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ । जिल्लाका मुख्य सडकभन्दा भित्री सडकमा झन् बढी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६÷७७ को साउनयता भित्री सडकमा ४६ सडक दुर्घटना भएका छन् । त्यसमा परी २६ ले ज्यान गुमाएका छन् भने ५९ घाइते भएका छन् । साँघुरो सडक, सवारी साधनको तीव्रगति, चालकको लापरवाहीका कारण दुर्घटना बढिरहेका गिरीले बताउनुभयो । साउनयता पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ सडक दुर्घटनाबाट १४ ले ज्यान गुमाएका छन् भने १०१ घाइते भएका छन् ।

यस्तै नारायणगढ मुग्लिङ सडकखण्डमा ३४ सडक दुर्घटनाबाट १४ को मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ घाइते भएका छन् । भरतपुर रिङरोडमा यो आवमा मात्रै सातको मृत्यु भएको छ भने २० घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा राजधानीबाहेकका प्रदेशका जिल्लामा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो ।

चितवनमा भएका ५६ दुर्घटनामा पाँच महिलासहित १९ ले ज्यान गुमाएका छन् भने २० गम्भीरसहित ५६ घाइते भएका छन् । एक महिनाको अवधिमा भएका दुर्घटनाले थप चुनौती थपिएको क्षेत्रीले बताउनुभयो । जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ । ‘नो पार्किङ’, ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिह्न, डिभाइडर, जेब्रा क्रसिङमा रङ मेटिएकाले र पुनः रङरोगन नहुँदा पनि सडक दुर्घटना बढेको प्रमुख गिरीले बताउनुभयो ।

यस्तै सडकका राजमार्गहरुमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेको उहाँको भनाइ छ । दुर्घटना नियन्त्रणका लागि लागि सबै सरोकार निकायले तत्कालै ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनमा सडक दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले निकुञ्ज क्षेत्रमा सवारी साधनमा जनावर ठोक्किने र दुर्घटना हुने भएकाले टिकौली क्षेत्रमा रातिको समयमा टाइमकार्ड लागू गर्ने पूर्वतयारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button