२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यचौकीलाई करोड बढीको जग्गा निःशुल्क

रेडियो नेपाल २०७६ पुष ५ गते ११:१७

फाइल फोटो

बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासीले चार रोपनी चार आना जग्गा निःशुल्क प्रदान गरेका छन् । आठ जना जग्गाधनीले रु एक करोड २९ लाख मूल्य बराबरको जग्गा दिएको जग्गा व्यवस्थापन समितिका उपसंयोजक वसन्त केसीले बताउनुभयो ।

स्थानीय होमबहादुर घिमिरेले आठ आना, गजेन्द्र, नारायण, भरत, टीकाबहादुर, लालबहादुर, टोपकली र गजेन्द्र कसीले पनि आठ आनाका दरले जग्गा प्रदान गर्नुभएको हो । गजेन्द्रले स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दिएको समितिले जनाएको छ । “पहिले स्वास्थ्यचौकी रहेको ठाउँ अपुग हुने भएपछि जग्गाको खोजी भइरहेको थियो”, समितिका उपसंयोजक केसीले भन्नुभयो, “लामो प्रयास र छलफलपछि जग्गा व्यवस्थापन भएको छ, अब नयाँ मापदण्डअनुसारको भवन बन्ने निश्चित भयो ।”

जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ भएपछि वडा कार्यालयले पनि जग्गाको खोजीलाई तीव्र बनाएको थियो । शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामा समेत गरिएको छ । तत्कालै स्वास्थ्यचौकीलाई जग्गा नामसारी दिने र निर्माणस्थलमा सडकको मार्ग खोल्ने निर्णय भएको जग्गादाता भरत केसीले बताउनुभयो ।

“पहिले गाविस भवन बनाउँदा पनि जग्गा दिएका थियौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीलाई पनि अन्यत्र जग्गा नपाइएपछि हामीले नै दिने निर्णय ग¥यौँ ।” बेलैमा स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा र नगरले विशेष पहल लिनुपर्ने उहाँको भनाइ छ । हाल स्वास्थ्यचौकी रहेको १२ आना जग्गा पनि स्थानीयवासी कर्णबहादुर केसीले निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गाको टुङ्गो लागेसँगै आधुनिक स्वास्थ्यचौकी भवन निर्माणको काम अघि बढ्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।

जिल्लाका अधिकांश वडामा नयाँ मापदण्डअनुसारका स्वास्थ्यचौकी भवन निर्माण भइसकेको छ । कतिपय ठाउँमा जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माण हुन सकेको छैन ।रासस

सम्बन्धित