तपाईँ सुन्दै हुनुहुन्छः

‘न्याय र सुशासन सुनिश्चित गर्न फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने’


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जंगबहादुर राणाले समाजमा न्याय र सुशासन सुनिश्चित गर्नका लागि फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

अनुसन्धानकर्ता प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिलहरूको आजदेखि  काठमाडौँमा सुरू भएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानन्यायाधीश राणाले सामाजिक न्याय र सुशासनका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

सामाजिक न्याय र सुशासनका लागि निर्माणभएका कानूनको प्रभावकारी कार्यान्वयनका लागि समेत स्वतन्त्र, निश्पक्ष र सक्षम अनुसन्धानकर्ता तथा अभियोजनकर्ता आवश्यक पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अनुसन्धानकर्ता प्रहरी तथा अभियोजनकर्ताको सरकारी वकिलहरूको कार्यसम्पादनमा सुधार ल्याउन अनुुसन्धानका क्रममा संकलित प्रमाणहरूको परीक्षणका लागि आधुनिक प्रविधि र प्रयोगशालाको बिस्तार गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना र प्रविधिको क्षेत्रमा भएको विकासले अपराधको परम्परागत स्वरूप र शैलीमा परिवर्तन आएको हुनाले त्यसलाई सम्वोधन गर्नेगरी अनुसन्धानकर्ता प्रहरीको क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।

आज देखि तीन दिन सम्म चल्ने सम्मेलनमा दुई सय ५० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरू, दुई सय ५० जना अभियोजन कर्ता सरकारी वकिलहरू, ३० जना विधिविज्ञान विज्ञ तथा पर्यवेक्षकहरू तथा महान्यायाधिवक्ताको कार्यालय तथा प्रहरी प्रधान कार्यालयका तर्फवाट ३० जना प्रतिनिधीहरू गरी जम्मा पाँच सय ६० जनाको सहभागिता रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button