तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध भएको चार दिनपछि फोन सेवा शुरु

डोल्पा। चिसोका कारण बिग्रिएको टेलिफोन टावर बनाइएपछि फोन सेवा शुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीलेकमा राखिएको टावरमा नयाँ आडियु उपकरण जडान गरेसँगै अवरुद्ध भएको चार दिनपछि टेलिफोन सेवा सञ्चालन भएको हो ।

रसीलेकमा राखिएको टावर बिग्रिएपछि सिङ्गो जिल्ला नै चार दिनसम्म टेलिफोन सेवाविहीन भए पनि आज बिहान ११ः०० बजेबाट नमस्ते र स्काइको मोबाइल सेवा, ल्याण्डलाइन सेवा, एडिएसएल इन्टरनेटलगायतका सबै प्रकारका सञ्चार सेवा सञ्चालन भएका छन् ।

टावर आसपासको क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले ओसिएर टावरमा राखिएको माइक्रोवेभ आडियु बिग्रिएपछि मङ्गलबारदेखि जिल्ला सञ्चार सेवाविहीन भएको दूरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो । रसीलेकमा राखिएको टावरका लागि नेपालगञ्जबाट नयाँ आडियु उपकरण झिकाएर जडान गरेसँगै आजदेखि जिल्लाको दुनै, जुफाल, खदाङलगायतका क्षेत्रमा राखिएका टेलिफोन टावरबाट पनि फोन सेवा सञ्चालन भएको उहाँले बताउनुभयो ।

जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई÷तीनपटक र हप्ता दिनसम्म पनि टेलिफोन सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई जिल्लावासीले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button