तपाईँ सुन्दै हुनुहुन्छः

राजपासँगको सम्झौताले सत्ता साझेदार अन्य दललाई कुनै असर नपर्ने : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा भएको सम्झौताले सत्ता साझेदार अन्य दललाई कुनै असर नपर्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार गठनको समयमा राजपाले समेत समर्थन गरेको स्मरण गराउनुहुँदै पछिल्लो सहमतिबाट सत्ता साझेदार अन्य दलहरूसंगको सम्वन्धमा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।

सरकारले अगाडि सारेका विकास निर्माण र समृद्धिका योजनामा समर्थन गर्ने सबै दलहरूसँग सहकार्य गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तयार रहेको बताउनुहुँदै
मन्त्री बाँस्कोटाले राजपा सरकारमा सहभागि हुने भएपनि नेकपाले आफ्नो भागमा परेका मन्त्रालयहरू दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

पत्रकारकै अर्को एक प्रश्नमा मन्त्री बाँस्कोटाले भोलीदेखि सुरू हुने संसदको अधिवेशनले विकास र सहयोग सम्बन्धी अमेरिकी नियोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्वन्धी सम्झौता अनुमोदन गर्ने समेत स्पष्ट पार्नुभयो ।

सम्झौतामार्फत प्राप्त हुने सहयोग अमेरिकाले लोकतन्त्र, सुशासन, पारदशीता र मानवअधिकार सुनिश्चित भएका राष्ट्रहरूलाई उपलब्ध गराउने सहयोग भएको बताउनुहुँदै मन्त्री बाँस्कोटाले सम्र्झौताबाट पछि हट्ने सम्भावना नरहेको बताउनुभयो ।

नेपाल कुनै पनि सैन्य गुटमा सहभागि नहुने स्पष्ट पार्नुहुँदै मन्त्री बाँस्कोटाले एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंगको रूपमा व्याख्या गर्न नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button