तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी उद्योगहरुलाई संरक्षण गर्न सरकार प्रतिवद्ध : मन्त्री खतिवडा

बीरगंज । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक तथा औद्योगिक क्षेत्रमा रहेका नीतिगत अस्पष्टतालाई समयसापेक्ष परिमार्जन गर्दै स्वदेशी उद्योगहरुलाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको कुरामा जोड दिनु भएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रिय अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा अर्थ मन्त्रालय पुगेको टोलीले आज बुझाएको ज्ञापन बुझ्दै अर्थमन्त्री खतिवडाले उद्योगी व्यवसायिहरुले उठाएको मुद्दा प्रति आफू सकरात्मक रहेको बताउनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउने दिशामा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्दै बढदो व्यापार घाटालाई कम गर्न निर्यात जन्य उद्योग सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडालाई चामल, तेल, दाल उद्योगका संचालकहरुले बुझाएको ज्ञापन पत्रमा नेपाल सरकारले पछिल्लो समयमा ल्याएका केहि अव्यवहारिक ऐन, नीति, नियम, कानूनले निजी क्षेत्र माँझ ठूलो अन्योल सिर्जना गरेको हुँदा यस्ता नियम कानुनहरु समय सापेक्ष रुपमा परिवर्तन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा मुलुकको आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई खुला एवम् सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील एवम् जीवन्त पार्न सरकारी स्तरबाट सहजीकरण गर्नुपर्ने कुरामा जोड दिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button