पोखराको रत्न मन्दिर खुला गर्ने तयारी
कास्की-सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ । गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो ।
रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो । रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ ।
त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो । सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको राससलाई बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्