तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान

बाँके-बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा ट्राफिक सङ्केत पनि राखेको र त्यसलाई पालना गराउन प्रशिक्षण दिइरहेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख बमले दुर्घटना न्यूनीकरणका लागि यसअघि ‘रेट्रो स्टिकर’ सवारी साधनमा टाँस्ने, दुर्घटना गर्ने सवारीसाधनको पहिचानका लागि मेटिएका नम्बर प्लेट पुर्नलेखन गर्ने, मोडिफाइ गरिएका मोटरसाइकललाई दुरुस्त बनाउन लगाउनेलगायतको काम गरिसकेको जानकारी दिँदै नगर क्षेत्रको ठाउँठाउँमा सन्देशमूलक बोर्ड पनि राखिएको बताउनुभयो ।

सबैले नियमको पालना गरे दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु नपर्ने उहाँले बताउनुभयो । सडक सङ्केत र विभिन्न ट्राफिक चिह्नको कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रसँग समन्वय गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमै घुम्ती प्रशिक्षण, यातायात व्यवसायीलाई सवारी दुर्घटनासम्बन्धी जानकारी गराई चालक तथा सवारीधनीलाई समेत जिम्मेवार गराइएको र पैदलयात्रुलाई समेत सडक प्रयोगसम्बन्धी जानकारी दिँदै आएको छ । रात्रि सेवाका बसमा दुई जना चालक अनिवार्य गर्न ट्राफिक कम्प्युनिकेशन एपको समेत प्रयोग गरिएकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button