तपाईँ सुन्दै हुनुहुन्छः

स्वीस नागरिक जेएफ मेस्सीको ‘किवि कोसेली’

दोलखा । जेएफ मेस्सी स्वीस नागरिक हुन् । लामोसाँगु जिरी सडक निर्माणको क्रममा इन्जिनियरको रुपमा दोलखा आएका मेस्सीले २०४३ सालतिर आफु बसेको चरिकोटको एउटा घरमा अनौठो फल रोपेका थिए ।

श्याम खड्काको चरिकोट सिमपानीको घरमा रोपिएको उक्त फल के हो ? त्यसको उपयोगिता के को लागि गरिन्छ भनेर न मेस्सीले जानेबेला कसैलाई भने, न कसैले उनीसंग त्यसबारे चासो नै दिए । २०५० सालतिर कसैले त्यो खान मिल्ने बताएपछि आफु लगायत केहिले झुसे फलको रुपमा त्यसलाई खाएको स्मरण छ मेस्सीका घरबेटी श्याम खड्कालाई ।
२०५८÷२०५९ तिर स्वीस परियोजनामै कामगर्ने खगेन्द्र सिग्देलले बेलायत तिर उक्त फलको निक्कै महत्व रहेको बताएको र त्यसैताका नेपाल स्वीस सामुदायीक बन परियोजनामा काम गर्ने स्वीस नागरिक पेट्रिक रविनसनले झुसे फल भनिएको उक्त स्वादिलो फलको नाम किवि भएको बताएपछि किविको चर्चा र महत्व बढेको खड्का बताउनु हुन्छ ।

किविको पहिचान पछि श्याम खड्काले मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो उक्त फल पहिलो पटक काठमाडौँको कालिमाटीमा लगेर १० हजारमा बिक्रि गरेका थिए । दोलखामै पहिलो पटक पहिचान भै व्यवसायीक उत्पादन सुरु गरिएको किवि फलको खेती अहिले देशको बिभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ ।
दोलखा जिल्लामा केहि बर्ष देखि किवि फलको उत्पादन तथा बिक्रि वितरण राम्रोसंग भै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाका बरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडा बताउनु हुन्छ । यो बर्ष दोलखा जिल्लाबाट किवि फल चार करोडभन्दा बढीको बिक्रि वितरण हुने अनुमान गरिएको खतिवडाले बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय मातहत रहेको दोलखाको छ वटा स्थानिय तहका २२ वटा वडामा ४७ हेक्टर क्षेत्रफल जमिनमा लगाईएको किवि बिक्रिबाटमात्र तीन करोडभन्दा बढी आम्दानि हुने अनुमान गरिएको खतिवडा बताउनु हुन्छ ।

नेपालमै पहिलो पटक किवि फलको पहिचान र व्यवसायीक खेती गरेका श्याम खड्काले केहि बर्षदेखि किविको फल र विरुवा बिक्रि गरेर बार्षिक १० लाख भन्दा बढी आम्दानि गर्दै आउनु भएको छ । यो बर्ष पनि विरुवा र फल बिक्रि गरेर कम्तिमा १० लाख आम्दानी हुने अनुमान गरेको छु – खड्काले भन्नु भयो ।

भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पनि किविको बेर्ना (विरुवा) उत्पादन र फल बिक्रिलाई प्राथामीकताका साथ सुरु गरेको छ । गत बर्ष तिलोत्तमा हिमाली फूड प्रोडक्सनले झण्डै आठ लाखको किविको बेर्ना बिक्रि गरेको किवि जोन दोलखाको संयोजक एवं तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिका व्यवस्थापक उषा थापाले बताउनु भयो । यो बर्ष फल र बेर्ना (विरुवा) अझ बढी बिक्रि गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो । बोचमै रहेको कृषि फार्ममा हरेक बर्ष किवि खेती सम्बन्धि तालिम हुने गरेको छ । जहाँ देशभरका कृषकहरु किवि खेती सम्बन्धि तालिम लिन आउने गरेका छन् ।

स्वीस नागरिक मेस्सीले कोसेलीको रुपमा छोडेको किवि फल अहिले दोलखा आउने पर्यटकहरुले कोसेलीकै रुपमा लाने गरेको नेपालकै पहिलो किवि फलका व्यवसायी श्याम खड्का बताउनु हुन्छ । विशिष्ठ श्रेणीका कर्मचारी, ठूला व्यवसायी, राजनीतिज्ञ सबैले किवि फल दोलखाको उपहारको रुपमा लाने गरेको खड्काको भनाई छ । जिल्लामा उत्पादीत किविको आधा बजार दोलखानै भएको र आधा काठमाडौँ जाने गरेको चरिकोटका ब्यापारी चित्र दहाल बताउनु हुन्छ ।

किवि फललाई तीन ग्रेडमा बिभाजन गरेको पाईन्छ । एक सय ग्राम भन्दा बढीको किवि ए ग्रेड, ७० ग्रामसम्मको किवि बि ग्रेड र ६० भन्दा कम ग्राम तौलको किवि सि ग्रेडमा बिभाजन गरिएको बरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनु भयो । दोलखामा मोन्टी, एलिसन, हेर्वाड लगायतका जातको किवि फल उत्पादन हुने गरेको खतिवडाले बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाले किवि फलको प्रवद्धनको लागि स्वास्थ्यकर्मीहरुसंग यसका फाईदाहरुको विषयमा छलफल गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाहरुलाई किवि फल दिने लगायतका कार्यक्रमको बारेमा परामर्श गरिरहेको पनि बरिष्ठ कृषि अधिकृत खतिवडा बताउनु हुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button