तपाईँ सुन्दै हुनुहुन्छः

चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे माझी

सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।

दशैँको फूलपातीको दिन नयाँ घर सर्नुभएकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै हुनुहुन्थ्यो । नयाँ घर पाउँदा उहाँहरु खुशी देखिनुभयो । उहाँहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्नुहुन्छ, “घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।” अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उहाँहरु ढुक्क हुनुहुन्छ । सरकारबाट आएको रु तीन लाखमा रु चार लाख ऋण थपेर घर बनाएको उहाँले बताउनुभयो ।

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सर्नुभएको छ । छ जनाको परिवार बस्ने उहाँले भन्नुभयो, “साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।” उहाँले पनि माटोढुङ्गाको त्यो दुईतले घर भने कहिल्यै भुल्न नसक्ने बताउनुभयो । परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको रु चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताउनुहुन्छ ।

जुना माझी नयाँ घरमै विवाह गरेर भित्रनुभयो । उहाँले टहरो देख्न पाउनुभएन । तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन भन्नुहुन्छ जुना । निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् । यहाँ रहेका ढुङ्गामाटोको दुईतले घर विसं २०७२ को भूकम्पले क्षणभरमै भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ । बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ । दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ ।

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ । ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन् ।

चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गर्नुभएको थियो । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ । नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनुभएका निराजन सापकोटाले बताउनुभयो । “श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटा भन्नुहुन्छ ।

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ ।

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउनुहुन्छ । सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । उहाँ थप्नुहुन्छ, “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो ।

यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु ।

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच÷सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ । अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउनुहुन्छ ।

यहाँको सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट शुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उहाँले बताउनुभयो । बस्ती निर्माणको शुरुको लागत रु १२ करोडको हो । अन्य पूर्वाधार निर्माणमा रु चार करोड थियो । अहिले भने लागत बढेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button