तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

भरतपुर-चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ÷दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ । एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष दु्रत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । प्र

योगशाला शुभारम्भका दिन लौकामा गरिएको परीक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिनुभयो । प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको उहाँले बताउनुभयो । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गर्नेछन् । फलफूल तथा तरकारीको परीक्षण हुने भएकाले यसअघि नै विषादी प्रयोग नगर्न कृषकलाई भनिएको महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताउनुभयो ।

उहाँका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ । चीन र भारतबाट पनि यहाँको बजारमा फलफूल र तरकारी आउँछ । प्रदेश सरकारले चितवनमा जस्तै हेटौँडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामग्री हस्तान्तरण गरेको छ । पाँच स्थानका लागि रु एक करोड ८० लाखको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रयोगशालासँग प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमूना परीक्षण गर्ने क्षमता रहेको छ । पाँचवटै प्रयोगशालाका लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना युवा कृषि स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button