सरकारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
सुरेन्द्रमणि त्रिपाठी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा पनि अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनलगायतका विषयमा छलफल जारी रह्यो ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको आजको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, लगायतका विषयमा १२ जना स्थायी कमिटी सदस्य तथा २ जना आमन्त्रित सदस्यले आ–आफ्नो विचार राख्नुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन लगायतका विषयमा सदस्यहरुले संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा आफ्ना विचार राख्दै केही सुझाव र आलोच्नात्मक टिप्पणी गर्नुभएको बताउनुभयो ।
आजको बैठकमा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदूराम भुषाल, शंकर पोखरेल, रघुबीर महासेठ, केशव बडाल, लेखराज भट्ट, घनश्याम भुषाल, शक्ति बस्नेत, जनार्दन शर्मा, मणि थापा र स्थायी कमिटीमा आमन्त्रित सदस्यहरु नन्द कुमार प्रसाई र विष्णुपुकार श्रेष्ठसहित १४ जनाले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रस्तावहरूमाथि भोली पनि छलफल हुने र स्थायी कमिटी बैठक भोली बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन बस्ने नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्