तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–ओमान सचिवस्तरीय वार्ता

काठमाडौँ । नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् ।

ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा सोमवार भएको वार्तामा परराष्ट्र सचिव शङ्करदास वैरागी र त्यहाँका महासचिव वद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच सौहाद्र्रपूर्ण वातावरणमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव वैरागीले नेपालमा वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण तयार भएको, कानूनी तथा नियमन व्यवस्था सहज एवं सरल तुल्याइएको जानकारी दिँदै भौतिक पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न ओमानलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाल र ओमानबीच श्रमिक आपूर्ति तथा पर्यटन प्रवद्र्धनका निम्ति भएको समझदारीका साथै कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने व्यवस्थाबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुगेको बताउनुभयो ।

ओमानका विदेश सचिवले सन् २०१७ मा नेपालका प्रधानमन्त्रीबाट भएको ओमान भ्रमणको स्मरण गर्दै सचिव वैरागीले लगानीलगायत पारस्परिक सहयोग र साझेदारीका निम्ति गर्नुभएको अनुरोधलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । नेपालसँग आर्थिक साझेदारीका साथै लगानीको आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button