तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

जुम्ला। तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो ।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उहाँले भन्नुभयो “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए उहाँले भन्नुभयो, “तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । बाहै्र जनाको अवस्था अज्ञात रहेको छ ।”

उहाँका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन् ।

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गर्नुभएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताउनुभयो । एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ सुनसान भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button