तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा १४ को मृत्यु (घाइतेको नामावलीसहित)

दोलखा। दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कदै गरेको बस आईतवार (आज) विहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ को ६ किलो भन्ने ठाँउमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाईते भएको र उनीहरुको काठमाडौँ, धुलिखेल र सिन्धुपाल्चोकको बिभिन्न अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताउनु भयो ।

मृतक १४ जना मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ को जुनु तमाङकोमात्र सनाखत भएको प्रहरीले जनाएको छ । मृतक आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक मध्य अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ ।

उक्त बस शनिवार भक्तपुरको आर्दशबाट कालिञ्चोक गएको थियो । आईतवार (आज) विहान चरिकोटबाट भक्तपुर फर्किएको बस विहान पौने आठ बजे दुर्घटनामा परेको स्थानियले बताएका छन् ।

दुर्घटनाको घाईतेहुनेहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, ३७ बर्षको दोर्जे तमाङ, १६ बर्षको सागर तमाङ, ३० बर्षको दिपक तमाङ, २४ बर्षको नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५/६ महिनाको एक बालिका रहेको प्रहर िनिरीक्षक खनालले बताउनु भयो ।

घाईते मध्य सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको, चार जनाको धुलिखेल अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भै रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमकला पाण्डेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button