२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको गुनासो : गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् ?

–हेमन्त केसी २०७६ मंसिर २६ गते १०:४७

जाजरकोट । नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका हुनुभयो । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो ।

सानो छँदा उठेको कुरा उहाँले उमेरले सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । उहाँका बाबाको सपना, उहाँको सपना र उहाँका छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गरेर वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफँैले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नुथियो । उहाँ भन्नुहुन्छ, “हाम्रो सीमा गाउँमा हजुरबुबादेखिको सपना, मेरो छोरा आधा उमेर पुगुञ्जेलसम्म पूरा हुन सकेन, आजभोलि नाति, नतिना खेतबारी लगाउनै अल्छी मान्न थाले ।” विकासको नाममा सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देश, विदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने मुख्य जमीन भने वर्षेनी हिउँद याममा बाँझो रहँदै आएको छ ।

त्यस्तै अर्का ५६ वर्षीय कलीमान कामी भन्नुहुन्छ, “गाडी, मोटर त हिउँद याममा घर नजिकै आउँछन्, चढेर आउने सजिलो त भयो, खेतबारीमा उत्पादन भने केही पनि छैन, सबै जग्गा जमीन बाँझै छ,उत्ता पठाउँदा खाली जान्छ ।” कति पटक हामीले सिँचाइका लागि सबैलाई अनुरोध गरिसकेम तर कसैले पनि ध्यान दिँदैनन् उहाँले थप्नुभयो, “हामीले हाम्रो जमीनमा आफैँले उत्पादन गरेको अन्नले वर्षभरि खाना पुग्ने वातावरण सरकारले तयार गरोस्, त्यही माग रहेको छ ।”

काम गर्ने तर भोकै मर्ने विधिको अन्त्य होस् भन्दै अर्का कृषक हरिबहादुर खत्री भन्नुहुन्छ, “किसानको जीवनस्तर माथि नउठेसम्म, नयाँ नेपालको सपना पूरा हुन सक्दैन ? त्यसैले कृषकको अवस्था बदल्नतिर सबै तहका सरकार लाग्नुपर्ने हाम्रो माग हो ।” पर्याप्त सिँचाइ, कृषि प्राविधिक र बीउको व्यवस्थापन गरी कृषकको ऊर्जाशील समयलाई सदुपयोग गर्नसमेत खत्रीले अनुरोध गर्नुभयो । खेतबारी सिँचाइ गर्नका लागि पानी छैन, घरमा बसेर के काम भो र ? हामी खाद्यान्न लगाएका वस्तुको खरिद गर्ने रकम कमाउन भारत जाने गरेको पीडा कृषक मनबहादुर खत्रीले दुखेसो पोख्नुभयो ।

दशैँ, तिहारजस्ता पर्व मनाएर भारत तथा काठमाडौँमा गएर मजदूरी गर्न बाध्य हुनुपरेको छ, सबै सुविधा भएको भए आफ्नै बाँझो जमीनमा तरकारी, खाद्यान्न उत्पादन गरेर पेटभरी खाने मात्र होइन, बजारसम्म लिएर बिक्री गरी अर्थ उर्पाजनको काममा लाग्ने इच्छा रहेको खत्रीको भनाइ छ ।

घरमा छोराछोरी श्रीमती अनि आफन्तसँग बसेर आफ्नै खेतबारीमा खाद्यान्न उत्पादन गर्ने इच्छा हुँदाहुँदै पनि थाकथलो छाडेर छ महिना बाहिर बस्नु रहर नभई बाध्यता भएको तासेका इन्द्रबहादुर खत्रीले बताउनुभयो । “दुई वर्ष पहिले नजिकै पानी घट्ट थिए, एक घण्टा टाढा रहेको खोलाबाट पाइपमा पानी ल्याएर केही पैसा भएका गाउँले मिलेर जमीन सिँचाइ गरी तरकारी उत्पादनसम्म गरिन्थ्यो, अहिले सडक निर्माण भएसँगै पानी स्रोत पुरिएका कारण अन्न पिस्ने पानी घट्टसमेत बन्द भएका छन्, सिँचाइका लागि राखिएका पाइपसमेत खोलामा पानी नहुँदा रित्तो भएको छ”, काङजाका मानबहादुर खत्रीले भन्नुभयो ।

सडक निर्माणसँगै अधिकांश ठाउँमा पानीका मुहान पुरिँदा सिँचाइ सुविधाबाट सयौँ गाउँलेका खेतबारी बाँझै रहेका छन् । पानीकै अभावमा पानी घट्टसमेत बन्द भएको स्थानीयवासी बताउँछन् । सडकमा हिउँद याममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् भने कृषकका खेतबारी वर्षायाममा आकाशे पानीको भरमा मात्र मकैखेती लगाउन मिल्ने भएको कृषक बताउँछन् ।

जिल्लामा रहेका सिँचाइ कार्यालयले योजना प्राथमिककीरण गर्न नसक्दा जिल्लाका सबै ठाउँमा सिँचाइ सुविधा पुग्न नसकेको आरोप लाग्ने गरेको छ । पहुँचको भरमा सिँचाइ आयोजना छनोट हुने र निर्माण भएका आयोजनासमेत दिगो नहुँदा वर्षेनी करोडौँ रकम फजुलमा खर्च भएको नागरिक अगुवाको तर्क छ ।

स्थानीय सरकारले समेत सिँचाइ सुविधाभन्दा सडक निर्माणलाई पहिलो प्राथमिकता दिँदा कृषकको माग सम्बोधन हुन सकेको छैन । सिँचाइ कार्यालयले अहिलेसम्म जाजरकोटको कति भागमा सिँचाइ पुगेको छ भन्ने तथ्याङ्कसमेत निर्माण नगरेको बताएको छ ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा नहुँदा वर्षायाममा मात्र खेती हुने गर्दछ भने हिउँद याममा बाँझो रहने गरेको छ । यसले गर्दा बाहिरबाट आयतित खाद्यान्नले यहाँका स्थानीयवासी छ महिनाभन्दा बढी निर्भर हुने गरेका छन् ।रासस

सम्बन्धित