तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू

वीरेन्द्रनगर- कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८०० पाउने भएका छन् ।

यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत रु दुई हजार र चार पटक गर्भ जाँच गरेबापत रु ८०० पाउँदै आएको थियो । जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ ।

अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ । स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो ।

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट छुट्याइएको जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button