तपाईँ सुन्दै हुनुहुन्छः

व्यापारिक केन्द्र दुर्गन्धित बन्दै कोल्टीबजार

मार्तडी। जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्गन्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत रहेको सो बजारको यो स्थितिले त्यहाँका जनतामा निराशा छाएको छ । कोल्टीका स्थानीयवासीले तीन वर्षदेखि बिजुली र दुई वर्षदेखि नियमित पानीको समस्या व्योहोर्नुपरेको व्यापारीको गुनासो छ । देशका विभिन्न भागदेखि हवाईजहाजबाट कोल्टीमा अवतरण गर्दा बजारको व्यवस्थापनले बाजुराको पहिचान रहेको यो बजारमा बजारवासीले हरेक हप्ता सरसफाइ गरे पनि नहुने देखिएपछि स्थानीय तहलाई गुहार माग्दा पनि कुनै वास्ता नगरेको व्यापारी सञ्जय रोकायाले गुनासो गुर्नभयो ।

मुख्य बजारमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन । मार्तडी–कोल्टी सडकको मुख्य केन्द्रका रुपमा रहेको बूढीढनन्दा नगरपालिका–२ मा पर्ने कोल्टीबजारको पुरानै खच्चर चल्ने सडक त्यही सडकमा सवारी पार्किङले बजार झन् अव्यवस्थित बन्दै जाँदा पनि स्थानीय सरकारले कुनै ध्यान नदिएको नागरिक अगुवा सर्पलाल गिरीले बताउनुभयो ।

नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि ध्यान नदिएको गिरीको भनाइ छ । नगरपालिकाले त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले बजेटको व्यवस्थापनमा जुटेको आश्वाशन दिएको छ । कोल्टीबजारलाई व्यवस्थित गर्नका लागि आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाई माग गरेकाले केही महिनामै यसको समाधान निस्कने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button