तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति पुन ‘सार्क चार्टर डे’ समारोहमा

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका महासचिव अमजद हुसेन बि सियालले बितेका ३५ वर्षमा सार्कले क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रगति गरेको बताउँदै दक्षिण एशियाली आर्थिक सङ्घ निर्माणको लक्ष्य प्राप्तिमा सबै सदस्य राष्ट्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रभावकारी क्षेत्रीय एकीकरणका निम्ति सुदृढ अन्तरदेशीय सम्पर्क सञ्जाल विस्तार अपरिहार्य भएको बताउँदै उहाँले सार्क नेतृत्वले त्यस सम्बन्धमा शीघ्र निर्णय गर्नेमा म विश्वस्त छु भन्नुभयो ।

उहाँले आफ्नो कार्यकाल समाप्त हुन लागेको जानकारी दिँदै सन् २०१९ मा सङ्गठनले सम्पादन गरेका कामको विवरण प्रस्तुत गर्नुभयो ।

समारोहमा सांसद, संवैधानिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपालको विकास साझेदार संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

त्यसअवसरमा आठवटै सदस्य राष्ट्रका राष्ट्रियता ढल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button