तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्ष सन २०२० : पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

चितवन । भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उहाँले जानकारी दिनुभयो । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताउनुभयो । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उहाँको भनाइ थियो ।

रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रुपमा अघि सारिने उहाँको भनाइ थियो । लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।

यसैगरी सौराहा आसपासका थारु बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारु सङ्ग्रहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाइएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको छ । यससँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रुपमा रहेका पटिहानी र मेघौलीमा पर्यटन पूर्वाधार बन्ने क्रम बढेको छ । गत वर्ष सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमध्येको पटिहानी एक हो भने यस वर्ष प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई लिएको छ । यी दुवै ठाउँ भरतपुर महानगरपालिकामा पर्दछ । भरतपुर महानगरले भ्रमण वर्ष लक्षित गर्दै आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० जिल्ला आयोजक समितिको आज यहाँ सम्पन्न बैठकले भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न गतिविधि गर्ने निर्णय गरेको छ । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बैठकमा जिल्लाका सातवटै पालिकाका पर्यटकीय गन्तव्यको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि विभिन्न गतिविधि अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो । सौराहामा रात्रिकालीन जीपदेखि इच्छाकामनामा स्वागतसम्मका गतिविधि गरिने भएका छन् । कुन–कुन कार्यक्रम कसरी गर्ने भन्ने टुङ्गो केही दिनमा लगाइने उहाँले बताउनुभयो ।

बैठकमा रत्ननगर नगरपालिकाका प्रमुख वन, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले भ्रमण वर्ष लक्षित गरी भएका कामका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र मिलनबाबु श्रेष्ठले भ्रमण वर्षमा पर्यटकको बसाई लम्ब्याउन र सङ्ख्या बढाउन गरिने गतिविधिमा आवश्यक सहयोगका लागि आफूहरु सकारात्मक रहेको जानकारी दिनुभएको डल्लाकोटीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button