तपाईँ सुन्दै हुनुहुन्छः

सागको समापन आज : खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुने ,यस्तो छ तयारी

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज (मंगलबार) समापन हुँदैछ।नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। (साग)को समापन समारोहलाई आज मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने भएको छ ।

अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।संवोधनको क्रममा प्रधानमन्त्री ओलीले सागका विजेता खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

१२ औं सागमा सरकारले व्यक्तिगत इभेन्ट्का स्वर्ण पदक विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख सहित सम्मान गरेको थियो।

यसपटक पुरस्कार राशी विगत भन्दा दोब्बर हुने अनुमान गरिएको छ।समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।

त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button