तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा बढ्दै : थाहा छैन न्यायिक समिति

काठमाडौँ । राष्ट्रिय महिला आयोगको हलमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा भव्य कार्यक्रम भइरहेको थियो । बाहिर  काठमाडौँ  टेकुकी अन्जु खड्गी भने चार महिनाकी छोरी काँखमा लिएर श्रीमानविरुद्ध उजुरी गर्न आइपुगेकी थिइन् । तीन वर्ष अगाडि सिन्धुपाल्चोकका अनुज श्रेष्ठसँग भागी विवाह गर्नुभएकी अन्जु अहिले भर्खरै १८ वर्ष पुग्नुभयो ।

छोराको चाहना राखेका उनका श्रीमानले छोरी जन्मेपछि बारम्बार कुटपिट गरेका कारण अन्जु राष्ट्रिय महिला आयोग आएको बताउनुहुन्छ ।सिन्धुपाल्चोक जलविरेकी सलिना विक पनि २२ दिनको छोरा काखी च्यापेर बहुविवाह विरुद्ध उजुरी गर्न राष्ट्रिय महिला आयोगमा आइपुग्नुभएको थियो । श्रीमानले तीन वर्ष अगाडि नै काठमाडौंमा कान्छी श्रीमती भित्र्याइकन दुई वर्षको छोरा जन्मेको सलिनाले आफू सुत्केरी भएपछि मात्रै थाहा पाउनुभयो । सुत्केरीमा राम्रो स्याहार पाउनुको साटो कान्छी श्रीमती, सासु र श्रीमान भएर कुट्न थालेपछि सलिना बि क महिला आयोगमा आएको बताउनुहुन्छ । रातदिन कुटाई खाएर बस्नुभन्दा सलिना श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्न चाहनुहुन्छ ।

त्यसो त स्थानीय तहको गठन भएपछि महिलामाथि हुने हिंसाका घटनाका उजुरी स्थानीय तहमै दिन सकिन्छ तर कतिपय महिलालाई आफूमाथि हिंसा भयो भने स्थानीय तहमा उजुरी गर्न सकिन्छ भन्ने पनि थाहा छैन । नगरपालिकाको उपमेयर तथा गाउपालिकाका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति स्थानीय सरकारको सर्वोच्च न्यायालय हो । गाउँघरमा हुने विभिन्न हिंसाका घटनाको उजुरी लिन,े छानविन गर्ने, मिलापत्र गराउने र जटिल खालका मुद्दाहरु माथिल्लो निकायमा पठाउने अधिकार न्यायिक समितिलाई छ ।

काभ्रे नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङ न्यायिक समतिमा बलात्कार, कुटपिट, बहुविवाहका उजुरी आउने गरेको बताउनुहुन्छ

उपमेयर तामाङ भन्नुहुन्छ “नगरपालिकामा हिंसा पीडित महिलाका लागि छुट्टै कोष रहेको छ । न्यायिक समितिमा नमिल्ने मुद्दा हामी प्रहरी र अदालतमा पठाउँछौं ।”

पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका छन् । तीन तहको सरकार गठन भएपछि पनि यस्ता घटनाहरु बढेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी महिलामाथि हिंसाका घटना भएका छन् भने प्रदेश नम्बर २ का ८ जिल्लामा विगत तीन वर्षमा १६ गुण बढी हिंसाका घटना भएको देखिन्छ ।

देशमा भएको परवर्तनले महिलाको सहभागिता त बढायो तर निर्णय प्रक्रियामा अर्थ पूर्ण रुपमा सहभागिता नगराउँदा महिला हिंसाका समस्या देखिएको छ । बलात्कार, बहुविवाह, दाइजो, कुटपिट, बोक्सीको आरोप, बालविाहलगायतका हिंसाका घटना बढ्दै गएको छ । सरकारी तथा गैरसरकारी तहबाट महिला हिंसा विरुद्ध विभिन्न अभियान चलाइरहँदा पनि समाजमा यस प्रकारको हिंसा बढ्नु चुनौतिपूर्ण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button