तपाईँ सुन्दै हुनुहुन्छः

दिवाखाजा सञ्चालनमा नआउँदा विद्यार्थी विद्यालय जान छाडे

बीरगंज । पर्साको जिराभवानी, ठोरी, जगरनाथपुर, धोबिनीलगायतका स्थानीय तहहरुमा रहेको सामुदायिक विद्यालयहरुमा दिवाखाजा कार्यक्रम संचालनमा आउन नसक्दा विद्यार्थीहरुको उपस्थितीमा कमी आएको छ ।

पाँच महिनादेखि बन्द रहेको दिवाखाजालाई स्थानीय तहहरुले हालसम्म सामुदायिक विद्यालयहरुमा सञ्चालनमा ल्याउन सकेको छैन् ।

नेपाल सरकारले दिवा खाजा सञ्चालनका लागि बजेट बिनियोजन गरे पनि पर्साको अधिकांश स्थानीय तहमा रहेका बिद्यालयहरुमा दिवाखाजा सुविधाबाट बिद्यार्थीहरुमा बन्चित भएका छन् ।

गत आर्थिक वर्षदेखि पर्सामा बाल बिकासदेखि कक्षा ५ सम्मका बिद्यार्थीको लागि शुरु भएको दिवा खाजा चालु आर्थिक बर्षमा संचालन नभएको जिराभवानी गाउपालिका वडा नं ५ मा रहेका सरस्वती आधारभूत बिद्यालय शंकर सरैयाका प्रधानाध्यापक शम्भू प्रसाद दासले बताउनुभयो ।

दिवा खाजा कार्यक्रम बन्द हँुदा साना कक्षाहरुमा बिद्यार्थीको उपस्थितिमा कमि आएको प्रधानाध्यापक दासले बताउनुभयो । दिवा खाजाका लागि गाउपालिकाको कार्यालयमा पटक–पटक माग गर्दै ज्ञापन पत्र बुझाइएपनि कुनै सुनुवाइ नभएकोले दिवा खाजा बन्द हँुदा २० प्रतिशतले विद्यार्थीहरुको उपस्थितीमा कमि आएको ठोरी ५ मा रहेका संखुबाटी प्राबि सुवर्णपुरका प्रधानाध्यापक तथा शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो ।

दिवा खाजा संचालनका लागि तथ्याङ्क संकलन भइरहेको र केही बिद्यालयले बिद्यार्थी बिवरणसहित खाजाको रकम माग गरेपनि सबै बिद्यालयको बिद्यार्थी बिवरण आउनासाथ एक साता भित्रमा दिवाखाजा कार्यक्रम सञ्चालनमा ल्याउने जिराभवानी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलोत्तम पोखरेलले बताउनुभयो ।

बजेट भाषणमा अर्थमन्त्रीको दिवा खाजाको रकम आमा समूहलाई प्रदान गर्ने वक्तव्य आएकाले अलमलमा परेर ढिलाई भएको र एक साता भित्र दिवा खाजाको रकम पठाईने ठोरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताउनुभयो ।

यता पर्साको पटेर्वा सुगौली, छिपहरमाई गाउपालिका, पोखरिया नगरपालिका र बीरगंज महानगरपालिकामा भने दिवाखाजा कार्यक्रम संचालनमा आईसकेको छ ।

त्यस्तै गत वर्ष पनि जगरनाथपुर र धोबिनी गाउपालिकाका सामूदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा आउन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button