तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य स्वयंसेविकाको बीमा हुने

वालिङ-स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

फेदीखोला गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभरुपमा स्वास्थ्यसेवा पु¥याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो ।

फेदीखोला गाउँपालिकाले १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसमा वर्षभरिको कार्यसम्पादन तथा सम्बन्धित स्वास्थ्यचौकीको मूल्याङ्कन गर्दै चार जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक खिलप्रसाद पौडेलले बताउनुभयो ।

यस वर्ष फेदीखोला स्वास्थ्यचौकीकी स्वयंसेविका प्रेमकुमारी सुवेदी, आरुखर्क स्वास्थ्यचौकीकी स्वयंसेविका डबलकुमारी गुरुङ, भाटखोला स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका मिठू थापा र बाङ्गेफड्के स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका टीकाश्री गुरुङ सम्मानित हुनुभएको फेदीखोला गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button