तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदेबालीका लागि मलको अभाव नहुने

Image result for हिउँदेबालीका लागि मलको अभाव नहुने

विराटनगर। हिउँदे खेतीका लागि प्रदेश नं–१ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

प्रदेशका १४ जिल्ला र प्रदेश नं–२ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले जानकारी दिनुभयो ।

हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ हजार मेट्रिक टन डिएपी विराटनगरको कार्यालयमा आउने र अहिले चार हजार १५८ मेट्रिक टन युरिया र एक हजार ६१३ मेट्रिक टन डिएपी गोदाममा आइसकेको सहायक प्रबन्धक गौतमले बताउनुभयो । अहिले दैनिक २५ देखि ३० वटा ट्रकमा कोलकाताबाट मल आइरहेको बताइएको छ ।

नेपाल सरकारले युरिया, डिएपी र पोटास मलमा किसानलाई अनुदान दिँदै आएको छ । अनुदानका कारणले प्रतिबोरा रु दुई हजार २०० मूल्य पर्ने युरिया रु ७०० मा र रु दुई हजार १५० मूल्य पर्ने डिएपी रु एक हजार ५५० मा किसानलाई सरकारले मल उपलब्ध गराइरहेको छ ।

गहुँ, चिया, उखु, केरा र आलुखेतीका लागि आवश्यक पर्ने पोटास यस क्षेत्रका लागि पाँच हजार मेट्रिक टन आवश्यक रहेको र दुई महिनापछि मात्रै यो मल आइपुग्ने देखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button