तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनः चितवनमा शान्तिपूर्ण रुपले मतदान हुँदै, आजै मतगणना हुने (फोटो फिचर)

चितवन । चितवनमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको छ । जिल्लाको दुई पालिकाको ३ वटा वडामा बिहान ७ बजेदेखि मतदान भईरहेको छ । चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालीन वडाध्यक्षहरुको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो । जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन स्वयम प्रजिअ बस्नेतको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु नै खटिएका छन् । तीन वटा वडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्रमार्फत मतदान भईरहेको छ । यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन् । तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् ।
मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ । मतगणनाका लागि सुरक्षा संयमितता अपनाईएको छ । खैरहनीमा मतगणनाका लागि सीसी क्यामेरा जडान गरिनुका साथै तारजालीको प्रयोग गरिएको निर्वाचन अधिकृत विद्याराज पौडेलले बताए ।

गणनाका क्रममा कुनै अप्रिय घटना नहोस भनेर तारजाली र सीसीक्यामेरा प्रयोग गरिएको उनले बताए । चितवन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

खैरहनी वडा नः ४
२०७४ माघ ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नः ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन भएको हो । निधन भएका अधिकारी कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष थिए । यस वडामा ४ जनाको उम्मेदवारी परेको छ ।

नेकपाले बेदबहादुर अधिकारी र कांग्रेसले देवबहादुर बस्नेतलाई उम्मेदवार बनाएका छन् । राप्रपाबाट अनोज अधिकारी र राप्रपा संयुक्तबाट सिताराम थारु उम्मेदवार छन् । खैरहनी नगरपालिका वडा नः ४ मा दुई मतदानस्थल र ३ वटा केन्द्र रहने छन् । जनएकता आधारभूत विद्यालय हात्तीलेवटमा दुई केन्द्र रहने छन् ।

यहाँ मतदाता १६ सय २ छन् । राप्रावि कुनाघारीमा एक मात्रै मतदान केन्द्र रहनेछ । यहाँ १ हजार ९० जना मतदाता छन् । खैरहनी–४ मा २ हजार ६ सय ९२ मतदाता छन् ।

खैरहनी वडा नः ५
वडा नः ४ का वडाध्यक्ष नरेन्द्र अधिकारीसँगै सवारी दुर्घटनामा ज्यान गुमाएका थिए, वडा नः ५ का वडा अध्यक्ष विश्वविजय वस्नेतले पनि । उनी कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा यस वडामा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाले पुननारायण प्रधानलाई र कांग्रेसले विश्वविजय बस्नेतकी श्रीमती प्रतिमा बस्नेतलाई उम्मेदवार बनाएको छ ।

प्रधान र बस्नेतकाबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ । यस वडामा नागरिक पार्टीबाट बलवीर चौधरी र समाजवादी पार्टीबाट विकल महतो थारु उम्मेदवार बनेका छन् । वडा नं. ५ मा राप्रावि सलौली एकमात्रैं मतदानस्थल तोकिएको छ । यहाँ रहने दुई केन्द्रमा २ हजार १ सय ६१ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

भरतपुर महानगरपालिका वडा नः १६
२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा यो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार चतुरमान गुरुङ विजयी भएका थिए । उनको क्यान्सर रोगका कारण गत असोज ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टीले भक्तराज हमाल र कांग्रेसले अमृत हमाललाई वडाध्यक्ष उम्मेदवार बनाएका छन् । अमृत अघिल्लो चुनावमा वडाध्यक्षका प्रत्यासी बनेर पराजित बनेका थिए । राष्ट्रिय नागरिक पार्टीबाट धनप्रसाद घले, समाजवादी पार्टीबाट अमरबहादुर थापा र राप्रपा संयुक्तबाट बिष्णु त्रिपाठी उम्मेदवार छन् ।

भरतपुर –१६ मा तीन वटा मतदानस्थल र १० मतदान केन्द्र रहने छन् । वडा कार्यालयमा रहने मतदानस्थलमा दुई मतदान केन्द्र हुनेछन् । यहाँ १ हजार ४ सय २२ मतदाता छन् । यस्तै, दुर्गा शेषकान्त मावि विजय नगर मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५ सय मतदाता छन् । मावि ढड्डाघारी मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५ सय ५९ मतदाता छन् । भरतपुर–१६ मा ८ हजार ४ सय ८१ जना मतदाता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button