तपाईँ सुन्दै हुनुहुन्छः

ठेकेदारको लापरवाहीले बेनी अस्पतालको भवन अलपत्र

म्याग्दी-तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो । गत असारदेखि कार्यक्षेत्र छोडेका मजदूर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् ।

तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी, आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

१५ श्यया क्षमताको अस्पताल २०७२ मा पचास श्ययामा स्तरोन्नति भएको थियो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सङ्घीयता कार्यान्वयनपछि शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई गत वर्ष आयोजना हस्तान्तरण भएको थियो ।

रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु ५ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो । २०७६ मङ्सिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो ।

एक वटा ब्लक भवनको दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, दोस्रोतलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

पटकपटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधि रवीन जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपट थापाले बेनी अस्पतालको भवन निर्माणलाई गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो । एक वर्षभन्दा बढी समय म्याद थप गर्न नमिल्ने नीतिगत व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button