तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको बेडबाट प्रधानमन्त्रीको ट्विट : ‘मेरो स्वास्थ्य सुधार हुँदैछ, सुभेच्छुक सबैलाई धन्यवाद’

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै ट्विट गर्दै आफ्ना सुभेच्छुकहरुलाई धन्यवाद दिनुभएको छ ।
आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई आफ्नो स्वास्थ्य सुधार भइरहेको र चिन्ता नगर्न भन्दै सुभेच्छा राखेकोमा धन्यवाद दिनुभएको हो ।

एपेण्डिसाइटिसको शल्यक्रियापश्चात् मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको आइसीयूमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले बिहीबार बिहान उठेर बसेको र केहीबेर सामाजिक सञ्जाल चलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले बिहान आफ्नो स्वास्थ्यबारे बाहिर भइरहेका चर्चाबारे समेत चासो राख्नुभएको थियो ।
हेनुहोस् प्रधानमन्त्री ओलीले गर्नुभएको ट्विट :

“बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,” प्रधानमन्त्री ओलीले ट्विट गनुभएको छ ।


१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको पछिल्लो समय ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायालाइसिस हुँदै आइरहेको थियो । अहिले मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमै डाइलाइसिस गर्न थालिएको बताएको छ । मङ्गलबार र बुधबार गरी दुईपटक डायालाइसिस गरिएको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button