तपाईँ सुन्दै हुनुहुन्छः

१३औँ साग: फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार

क्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गत आठ खेल पोखरामा खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन । यसअघि पोखरामा नौ खेल खेलाउने योजना रहे पनि नेपालबाहेकका अन्य देशबाट सहभागिता नहुँदा प्याराग्लाइडिङ सागबाट हटेको छ । पर्यटकीय फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन हुने बिच भलिबलको पूर्वाधार निर्माणको काम जारी छ । खेलाडी परिवर्तन कक्ष तथा शौचालय निर्माण सम्पन्न भए पनि मैदानमा बालुवा हालेर खेल्नयोग्य बनाउन बाँकी छ । अस्थायी प्यारापिटसमेत राखिएको छैन । बिच भलिबलको हाल भइरहेको एक कोर्टको स्तरोन्नति हुँदै छ भने थप तीन नयाँ कोर्ट निर्माण गरिएको छ । राष्ट्रिय खेलूकद परिषद् (राखेप)ले सम्बन्धित खेल सङ्घलाई नै पूर्वाधार निर्माणको जिम्मा दिएको छ । बोलपत्र आह्वान गरेर काम गराउँदा ढिलाइ हुने भएकाले छिटोछरितो रूपमा समयअगावै खेलस्थल तयार गर्ने योजनानुसार सम्बन्धित सङ्घले उपभोक्ता समितिमार्फत काम गराए पनि पूर्वाधार निर्माणमा भने समय लागेको छ । जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली दुईतीन दिनभित्र खेलको सम्पूर्ण पूर्वाधार तयार हुने बताउनुहुन्छ । कात्तिक पहिलो हप्तादेखि निरन्तर काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “मैदान स्तरोन्नति सकिएको छ, अब बालुवा हाल्न मात्र बाँकी छ, प्यारापिटका लागि दुई दिनभन्दा बढी समय लाग्दैन ।” सागमा समावेश गरिएको महत्वपूर्ण प्रतियोगिता महिला फुटबल निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा खेलाउने योजनानुसार दु्रतगतिमा मैदानमा दुबो रोप्ने तथा प्यारापिट हाल्ने काम चलिरहेको छ । मैदानमा रोपिएको आधाभन्दा बढी दुबो मरेपछि त्यसलाई अहिले विस्थापन गरिएको छ । दुबो रोपिएको दुई सातासम्म मैदान खेल्नयोग्य नभए पनि खेलको दौरान जहाँ–जहाँ दुबो उप्किन्छ, त्यहाँ नयाँ राख्नका लागि दुबो जगेडामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button