तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

तनहुँ । तनहुँको दमौलीमा व्यास नगरपालिकाको आयोजनामा सोमबारदेखि लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ ।

मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिन विभिन्न कार्यक्रम गरी लैंगिक बिरुद्धको अभियान सम्पन्न गरिने व्यास नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल रहनुभएको थियो । सो अवसरमा हिंसा महिला माथी मात्रै हुँदैन पुरुषहरु लाई पनि हुन्छ पौडेलले भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी रहनुभएको थियो । हिंसा भएको वा देखेमा सम्बन्धित स्थानमा सूचना गरी सहयोग गर्नुपर्ने उपप्रमुख जोशीले बताउनुभयो । यस्ता कार्यक्रमहरुले समाजमा चेतना अभिवृद्धि गराउन सहयोग पुर्याउने जोशीको भनाई थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने स्वाभिमान पुर्वक बाँच्न सबैले पाउन पर्ने बताउनुभयो । हिंसा विरुद्ध एकबद्व भएर लाग्नुपर्ने न्यौपानेले बताउनुभयो । व्यास नगरपालिका भित्र रहेका ८४ वर्ष माथिका ६ सय ६४ जना वृद्धवृद्धालाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको प्रमुख न्यौपानेले जानकारि दिनुभयो ।

दमौलीको अनसन चौतारीबाट सुरु भएको र्यालीले दमौली बजार परिक्रमा गरि पुनः अनसन चौतारीमा आइ कार्यक्रम गरेको थियो ।

उक्त र्यालीमा ’महिला हिंसा अन्त्य गरौं’, ’सामाजिक न्यायको प्रवर्द्धन गरौं’, ’बाचौं, बचाऔ, अन्यायको विरुद्ध एक हौं’ लगाएतका नारा लेखिएको प्ले कार्ड सहित दमौली बजार परिक्रमा गरिएको हो । कार्यक्रममा म हिंसा गर्दिन भन्ने प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरिएको थियो ।

कार्यक्रममा मानव अधिकार रक्षक संजालकी अध्यक्ष कला पुनलगाएतले महिला हिंसा न्यूनीकरणमा सबै एकजुट हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button