तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा दिगो विकास स्रोत केन्द्र स्थापना

काठमाडौँ – सिंहदरवारस्थित संसद सचिवालयमा दिगो विकास स्रोत केन्द्रको स्थापना गरिएको छ । सिंहदरवारमा आज स्रोत केन्द्रको उद्घाटन गर्गनुहुदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले एकीकृत ढंगबाट योजना बनाएर दिगो विकास लक्ष्य प्राप्तिका लागि काम गर्न सके समयमा नै लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दिमिल्सिनाले दिगो विकासको लक्ष्य हासिल गर्ने जिम्मेवारी राज्यको मात्रै नभएर सबैको भएको भन्दै संसद सचिवालयमा स्थापना गरिएको दिगो विकास स्रोत केन्द्रबाट सूचना लिएर लक्ष्य कार्यान्वयन हुने गरी अघि बढ्न सांसदलगायत सम्वद्ध पक्षलाई मद्दत पुग्ने बताउनुभयो ।

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले दिगो विकासका लक्ष्य प्राप्ती सम्वन्धी कामहरुलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र स्रोत केन्द्रले लक्ष्य पुरा गर्न थप बल पुग्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मिन बहादुर शाहीले दिगो बिकासका लक्ष्य पुरा गर्ने आयोजनाहरुमा सहयोग गर्न आयोग तयार रहेको भन्दै पन्ध्राँै योजनाले दिगोविकासका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

दिगो विकास स्रोत केन्द्रमा दिगो विकासका १७ वटै क्षेत्रहरुको अवस्था, लक्ष्य प्राप्तीका लागि भइरहेका काम, त्यसको प्रगतीको अवस्थालगायत सम्पूर्ण विषयको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने तथा त्यस विषयमा त्यही बसेर छलफलसमेत गर्न सकिने व्यवस्था मिलाइएको दिगो विकास तथा सुशासन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button