मेचीका चार सर्वोत्कृष्ट करदाता सम्मानित
भद्रपुर झापा – मेची अञ्चलका चार सर्वोत्कृष्ट करदाता व्यावसायिक प्रतिष्ठान आज सम्मानित भएका छन् । आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापनको अवसरमा आन्तरिक राजश्व कार्यालय भद्रपुरले कार्यालय परिसरमा आयोजित समारोहका बीच जिल्लामा सर्वाेत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
आफ्नो कार्यक्षेत्र रहेको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका एक–एक सर्वोकृष्ट करादातालाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।
आ. व. ०७५÷०७६ मा सबैभन्दा बढी कारोबार गरी सबैभन्दा बढी राजश्व बुझाउने झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको समिट लघुवित्त वित्तीय संस्था, इलामबाट सूर्योदय नगरपालिकास्थित नेपाल स्मल टि प्रोडुसर्स प्रा. लि., पाँचथरबाट फिदिम नगरपालिका वार्ड नं १ को सिद्धार्थ ट्रेडिङ र ताप्लेजुङबाट फुङलिङ–४ को ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो ।
कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि संविधानसभा सदस्य मनकुमार गौतमले सम्मानपत्र प्रदान गर्नुभएको थियो । समिटका तर्फबाट अध्यक्ष तीर्थराज ढकाल र कार्यकारी प्रमुख देवेन्द्रबहादुर वस्नेतले, स्मल टिका तर्फबाट सञ्चालक पराजुलीले, सिद्धाथृका तर्फबाट प्रतिनिधिको रुपमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक ढकालले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।
यसैगरी, कार्यालयले कर सप्ताहमा सक्रिय सहयोग पुर्याएको भन्दै विर्तामोड उद्योग वाणिज्य संघ, कनकाई उद्योग वाणिज्य संघ, झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, महिला उद्यमी संघ झापा, माँ लक्ष्मी वचत तथा ऋण सहकारी संस्था विर्तामोड र नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखालाई प्रशंसित गरेको छ ।
यसैगरी कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा भद्रपुरमा कार्यरत कर अधिकृत प्रकाश राई, करदाता सेवा कार्यालयमा कार्यरत कार्यालय सहयोगी मोहनलाल ढकाल र करदाता सेवा कार्यालय फिदिममा कार्यरत नायव सुब्बा अभिजित कुमार सिंहलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
मंसिर १ गते शुरु भएको यस वर्षको कर सप्ताहमा कार्यालयले करदाता शिक्षा, रक्तदान, करसम्बन्धी सन्देशमूलक मयाराथन दौडलगायतका रचनात्मक कार्यक्रम आयोजना गरेको प्रमुख कर अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्