तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री रुसी महासङ्घ र सर्वियाको भ्रमण गर्दै   

काठमाडौँ –   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही मङ्सिर ७ गते उहाँ मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मङ्सिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिनुहुनेछ भने रुसका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मङ्सिर ११ गते बेल्ग्रेड पुग्नुहुनेछ । नेपाल र तत्कालीन युगोस्लाभियाअर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उहाँले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

बेलग्रेडमा उहाँ स्थानीय उद्योग वाणिज्य सङ्घ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनुहुनेछ ।

मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासङ्घको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनुहुनेछ । सर्विया भ्रमणदलमा सचिव वैरागीसहित उक्त देशका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनाल र अन्य सरकारी अधिकारी रहनुहुनेछ । यही मङ्सिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button