तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ : पराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा। पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो ।

नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गर्नुभयो । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उहाँले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो, “फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ । त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ ।”

कार्यक्रममा प्रा डा वेनीमाधव ढकालले नेपालमा गणतन्त्र आएपछि पाल्पा जिल्लामा पहिलोपटक महाकाव्य प्रकाशनमा आएको बताउनुभयो । महाकाव्यमा राष्ट्रिय एकता, नेपाली कला, संस्कृति, भूगोल र पाल्पा आसपासलाई केन्द्रित रहेको समसामयिक महाकाव्य रहेको उहाँले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले साहित्यका माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।

लेखक न्यौपानेले महाकाव्यमा नेपालीपनको झल्को दिने र राष्ट्रिय एकतालाई बलियो बनाउन महाकाव्य सफल हुने बताउनुभयो । कार्यक्रममा भन्सार विभागका उपनिर्देशक मनमाया पङ्गेनी, वरिष्ठ पत्रकार मेघराज शर्मा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुरबहादुर थापाले महाकाव्यले समसामयिक र राष्ट्रिय एकता बलियो बनाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो । पूर्वखोला गाउँपालिकाको सहयोगमा प्रकाशित श्रम–साधना महाकाव्यको लोकापर्ण पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लेखक नीलकण्ठ न्यौपानेकी आमा गाथादेवी न्यौपानेले गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button