तपाईँ सुन्दै हुनुहुन्छः

संकटमा कर्णालीको ‘ढाल नाच’

जुम्ला । वर्षौं पहिले तातोपानी गाउँपालिका २ का गोरे चनारा (ढाल नाच) नाईके थिए ।चार पाँच दशक पहिले विभिन्न अबसरमा विजय उत्सवका रुपमा नाचिने ढाल नाँचलाई चनारा जहाँ पनि प्रस्तुत गर्थे । तर उनको उमेर ढल्किदै गएपछि छोरा चैते चनाराले उक्त नाच सिके । खस सभ्यता र शक्तिशाली खस राज्यको सफलताको प्रतिक ढाल नाचलाई गोरे चनाराका छोरा चैते चनाराले पनि केही वर्ष निरन्तरता दिए । चैते चनाराकोे मुत्यु पश्चात चैते चनाराका छोरा परान चनारा, भैरब चनारा कसैले पनि ढाल नाचलाई प्रथामिकता दिएनन् ।

ढाल नाच विशेषगरी काठ काम गर्ने गर्ने (चनारा) सम्बन्धित छ । काठका तरबार, ढाल बनाएर विभिन्न ठाउँमा पञ्चेबाजाको तालमा प्रर्दशन गरिने कर्णालीको मौलिक ढाल नाँच यत्तिखेर भने संकटमा छ ।

दशकौँपछि देखियो ढाल नाच
बाँया हातमा ढाल, दाँया हातमा तरबार, सेता दौरा सुरुवाल, टाउकोमा फेटा, कम्मरमा पटुकी र गोर्खाली खुकुरी राखी पञ्चेबाजाको तालमा लस्करै लागेर नाचिरहेको देख्दा अहिलेका पुस्ताले ठम्याउनै सकेनन् यो के हो भनेर । हातमा ढाल र तरवार लिएर दमाहाको तालमा नाचिने ढाल नाच देख्दा दर्शकहरुल भब्य लडाईको तयारी भैरहेको वा लडाई जितेर विजयी नाच नाचिरहेको जस्तोे अनुभूती गरे । सबैले रोचक मानेर हेरेको त्यो नाच कुनै युद्ध वा उत्सवभन्दा पनि कर्णालीको मौलिक संस्कृति पहिचान बोकेको ढाल नाच थियो ।

नाच देखेपछि केही बुढापाकाले आपसमा कुरा गर्दै भने ‘कति राम्रो देखाए,पहिला पहिला नाच्थे, वर्षौपछि देख्दा हेरौँ हेरौँ लाग्यो’ ।

“खस सिंजा सभ्यतासंग जोडिएको ढाल नाच पुस्तान्तरणको अभावले संकटमा छ । शक्तिशाली सिंजा राज्य प्राप्तीको लडाई जितेको विजय उत्सव स्वरुप ढाल नाँच शुरुवात भएको विश्वास छ ।”

सिंजा पर्यटन महोत्सवमा दशकौपछि देखाइएको ढाल नाँच देख्दा अधिंकाश पछिल्लो पुस्ता दंग भए । खसभाषाको उद्गमस्थल सिंजामा कनकासुन्दरी गाउँपालिकाले कात्तिक ८ देखि १० गतेसम्म पहिलो खस सास्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गर्यो । उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाट्न गरेको महोत्सवमा ढाल नाँच जस्तै दशकौँदेखि लोपउन्मुख नाँचहरु प्रर्दशन गरिएको थियो ।

पञ्चेबाजा, ढाल नाच, मागल, रतेडी, बालो नाच, हुड्के नाच, धामी नाँच, सिंजा राज्य प्राप्तीका लागि भएको युद्धको विजयीको नाटक लगायतका प्रस्तुती देखाउँदा सिंजा सभ्यता झल्कियो ।

महोत्सवमा आगन्तुक कलाकारभन्दा मौलिक साँस्कृतीक नाँचहरुलाई प्रथामिकता दिएर सिंजा सभ्यतालाई जिउँदो बनाउने प्रयास गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले बताए । उनले भने, ‘सिंजा राज्य २२ राज्यमध्ये शक्तिशाली राज्य हो ।’ राज्य एकिकरणको युद्धमा गोर्खाली सेनाले जितेको विजयी उत्सवमा ढाल नाचलाई लिईन्छ । कर्णालीका मौलिक सस्ंकृतिक संरक्षणका लागि पनि महोत्सव गरिएको अध्यक्ष रावतले उल्लेख गरे ।

ढाल नाच प्रस्तुत गर्दै सिंजाका स्थानीय । तस्बिर : सागर परियार

यसरी नाचिन्छ ढाल नाच
ढाल र तरबार खेलाएर नाचिने नाच ढाल नाच हो । यो पञ्चेबाजाको तालमा नाचिन्छ । लस्करै लागेका कलाकारहरुले अगाडि लागेको नाईकले गरे जस्तै पछिका सहायकहरुले पनि गर्छन् । बाजाकै ताल अनुसार युद्धमा दुस्मनसंग लडाई गर्दा गरिने प्रहार र प्रतिकार्य समेत नाचमै गरेर देखाईन्छ ।

मंसिर औंसीदेखि यो नाचलाई पर्वका रुपमा नै मनाईने गरेको भूवा सम्बन्धिका जानकार भिम बहादुर शाहले बताए ।औसीदेखि पुर्णिमासम्म देखाई ने यो नाचको सुरुवात मुडा पुलेर र नाचमा प्रयोग गरिने हतियार ढाल, तरवारको पुजा गरी नाचिन्छ । नाच्ने कलाकारलाई टिका लगाई हौसला समते दिने गरिन्छ ।

हेर्ने दर्शकलाई मज्जा आए पनि ढाल नाच प्रस्तुती गर्न भने त्यति सजिलो भने छैन । खस सिंजा सभ्यतासंग जोडिएको ढाल नाच नेपालकै एक मौलिक तथा लोपउन्मुख नाच हो । यस नाचले विर गोरखार्लीको विरतालाई पनि झल्काउँछ । स्थानीय रमेश न्यौपानले भने, नेपालीको पहिचान संगै जोडिएका मौलिक संस्कृति लोप हुदै गएपछि सिंजा सभ्यता पनि संकटमा पर्दै जाने खतरा देखिएको उनी बताउँछन् ।

ढाल नाँचको इतिहास
ढाल नाँचको इतिहासलाई दुई तरिकाले विश्लेषण गर्ने गरेका छन् । एकथरी अर्थात कर्णाली वासीले खस शक्तिशाली राज्य प्राप्तीका लागि शताब्दी पहिले गरिएको युद्धमा भएको जीतको विजय उत्सवको सम्झनामा ढाल नाच नाचिने तर्क दिन्छन् भने एकथरीले द्धापर युगमा पाण्डव र कौरवको लडाई हुँदा आफ्नो सुरक्षा आफैले गर्नको लागि हातमा ढाल र तरवार समाति लडाई जित्नको लागि खेलिएको खेललाई ढाल नाच भनिने गरिएको किम्बदन्ती रहेको सुनाउँछन् ।

लडाईमा पाण्डवले विजयी गरिसकेपछि पनि विजय जुलुसमा समेत ढाल नाच देखाइएको र तयसैको निरन्तरता नै अहिलेको अवस्था हो भन्ने जनविश्वास सिंजामा छ । जुम्लाका सस्कृत विद रमानन्द आर्चायका अनुसार १२ सय वर्ष पहिले सिंजा राज्य प्राप्तीका लागि गरिएको लडाई जितेपछि विजय उत्सवका रुपमा ढालको शुरुवात भएको हो । तर निरन्तरताको अभावले संकटमा परेपनि ढाल नाचको ऐतिहासिक महत्व अहिलेपनि जिवित रहेको सस्कृत विद आर्चायले प्रष्ट पानुभयो । । चनारा जाती काठ काम बढि गर्ने र ढाल तरबार बनाउने भएकोले ढाँल नाच चनारा जातीसंग सम्बन्धीत छ । कुनै बेला चनारा जातीको जीवन निर्वाहको पेशा पनि थियो यो नाँच ।

पुस्तान्तरणमा चुनौती
पहिला बाउ बाजेले नाच्दै आएको ढाल नाच अर्को पुस्तालाई हस्तान्तरण गर्ने चुनौती त छदैछ अर्कोतिर कतिपयले त बाउ बाजेका पालाका पुराना ढाल तरबार पनि बचिसकोका छन् । पहिला सिकाएनन् । अहिलेका युवा सिक्न चाहादैनन्, स्थानीय कवि चनारा भन्छन्, ढाल नाच नयाँ पुस्तामा पुस्तान्तरण गर्न चुनौतीपूर्ण रहेको उनको अनुभव छ
केही सिकेका मान्छे बुढापाका छन् । कोहीलाई सिक्ने चाहना भएपनि सामाग्री बनाउने सिप छैन ।

पुर्खाहरुले देखाउदै आएको ढाल नाचलाई निरन्तरता दिन अहिलको पुस्ताले चासो देखाउनु पर्छ । युवा लालचन्द्र चनारा भन्छन्, सिक्ने ठुलो रहर छ । तर सिकाउने नाईके, सिकाउने आबश्यक सामाग्री बाजा बजाउने दमाई सबै कोही छैनन । उनले गुनासो पोखे । रहर भएर पनि चुप बस्नु परेको उनको गुनासो छ । कर्णालीको जुम्लामा प्रख्यात ढाल नाचको संस्थाको विकासमा हालसम्म कतैबाट पनि पहल भएको अबस्था छैन

ढाल संरक्षणमा स्थानीय तहको चाँसो
सिंजा सभ्यत संग जोडिएको ढाल नाँच संरक्षणमा योजना सहित अघि बढ्ने कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनले भने, खस सिंजा सभ्यताको पहिचान ढाल नाच हो । पछिल्लो पुस्ताले चासो नराखेपनि, ढाल नाचका पहिरन निर्माण हुन लागेको संगह्रालयमा राखिने उनले उल्लेख गरे ।

सामाग्री व्यवस्थापनका लागि आबश्यक बजेट विनियोजनदेखि युवा पुस्तालाई सिकाउनका लागि बुढापाकासंग छलफल गर्ने उपप्रमुख उर्मिला भण्डारीले बताईन् । अहिले हामी सिंजा सभ्यता झल्काउने संस्कृत संरक्षणमा नजुटे हाम्रो संस्कृति लोप हुने र पछिल्लो पुस्ताले धिर्काने उपाध्यक्ष भण्डारीकोचिन्ता छ ।

सिंजा सभ्यताको अध्ययन, भ्रमण गर्न आउने पर्यटकलाई यहाँका मौलिक संस्कृतिले मनोरञ्जन दिनका लागि भएपनि संरक्षणमा जुट्न सस्कृत विद रमानन्द आर्चायको सुझाब छ । सिंजा सभ्यता संग जोडिएका मौलिक सस्ंकृति बचाउने जिम्मेवारी सबै कर्णालीबासीको भएकोले जिम्मेवार बन्न आचार्यको अनुरोध छ । । ढाल सिंजा मात्र नभई जुम्लाका आठै तहमा नाचिन्छ । एतिहासिक र मौलिक पहिचान बोकेको ‘ढाल नाच’ लोपहुनबाट जोगाउन सम्बिन्धित सबै एकजुट भई लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button