तपाईँ सुन्दै हुनुहुन्छः

युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको प्रदेशसभा सदस्यहरुको दाबी

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको प्रदेश सभा सदस्यहरुले दाबी गर्नुभएको छ ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) को आयोजनामा बुधबार र बिहिबार सञ्चालित दुई दिवसीय युवा नीतिको समीक्षा र युवाहरुसंग अन्तरकृया कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य दीर्घ सोराडीले विपन्न, पछाडी परेका तथा मूलधारमा आउन नसकेका युवाहरुलाई लक्षित गरी स्वरोजगार बनाउने उद्देश्यले युवा लक्षित थुप्रै कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा सम्बोधन गर्दै, प्रदेश सभा सदस्य पूर्णा जोशीले युवालाई स्वरोजगारमा जोड्न प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भइसकेको र अब कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त कोषले प्रदेशका बेरोजगार युवाहरुलाई स्वारोजगारमूलक कार्यमा लाग्न प्रेरित गर्ने दाबी गर्नुभयो ।

त्यस्तै, प्रदेश सभा सदस्य महेश दत्त जोशीले युवाहरुको हकमा प्रदेश सभाले ऐन, नियम, नीति तथा कार्यक्रमहरु तयार गरिसकेको बताउनुभयो । स्वदेशमै केही गर्न चाहने युवावर्गका लागि उक्त ऐन, नियम, नीति तथा कार्यक्रमहरु कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेश संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सभाबाट बनाइएका नीति, ऐन, विधेयक र घोषणा गरिएका कार्यक्रम तथा योजनाहरुको सफल कार्यान्वयनका लागि सरकारलाई दबाव दिइरहेको दाबी गर्नुभयो । उहाँले सरकारले घोषणा गरेका कार्यक्रमहरु प्रति युवाहरु जागरुक हुनुपर्ने धारणा राख्नुभयो । पछिल्लो समयमा युवाहरुको सरकार र राजनीति प्रतिको अनिच्छालाई कम गर्न पनि सरकारले ल्याएका योजनाहरु युवाहरुमाझ पुर्याउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

युवाहरुलाई लक्षित गरी सरकारले घोषणा गरेका धेरै कार्यक्रमहरु स्वयं धेरै युवाहरुलाई थाहा नहुुनु दुखद भएको नेपाल युवा संस्था सञ्जाल (आयोन) का केन्द्रीय महासचिव निरज बागले उल्लेख गर्नुभयो । उहाँले अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा युवाका लागि थालिएका प्रयासहरु सकारात्मक र आशलाग्दा भएको बताउनुभयो ।

त्यस्तै, आयोनका सुदूरपश्चिम प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष दीपेन्द्र राज जोशीले सुदूरपश्चिम प्रदेशले युवाका लागि ल्याएका कार्यक्रम उत्कृष्ट रहेको र ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी युवाहरुले प्रदेशले ल्याएका युवा लक्षित योजनाहरु घोषणामा मात्र सीमित भएको प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँहरुले वैदेशिक रोजगारमा जाने युवाहरु र स्वदेशमै बेरोजगार भई बसेका युवाहरुलाई स्वरोजगारमा केन्द्रित गर्नुपर्ने माग गर्नुभयो । जसका लागि भौगोलिक अवस्था र सम्भाव्यता अध्ययन गरी सरकारले तालिम र सीपको व्यवस्था गर्नुपर्नेमा उहाँहरुको जोड छ । युवाहरुलाई स्वदेशमै विकास निर्माणका काममा लगाउन सकेमा दुव्र्यवसनी र बेरोजगारी हट्ने तथा युवाहरु पलायन हुनबाट रोकिने युवाहरुकै भनाइ रहेको छ ।

कार्यक्रमबाट संकलित सुझावहरुलाई लिपिबद्ध गरी प्रदेश सभा सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । अधिवक्ता गणेश कडायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button