तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका

मेलम्ची । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् ।पर्यटक भित्र्याउने योजनामा यी नगरपालिका

जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी रु तीन करोड विनियोजन गरेको छ । नगर प्रमुख अमानसिंह तामाङले प्रत्येक वर्ष नगरपालिकामा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । नगरपालिकाको पश्चिम मोडमा पर्ने दारेगौँडामा शिव र बुद्धको ठूला मूर्ति बनाउन रु तीन करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

हाइवेबाट दारेगौँडासम्म पुग्ने ६०० मिटरको आकर्षक सिँढीबाट मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । मूर्ति र सिँढी निर्माणको काम केही दिनमै शुरु गरिँदैछ । भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा आगामी फागुन १ देखि ७ गतेसम्म सुकुटे महोत्सव गरिँदै छ । महोत्सवमा आएका पर्यटकलाई ओखरेनी लेकको चियाबगान र स्याउलेको चमेरो गुफासम्म पु¥याउने योजना बनाइएको छ । सुनकोशी नदीको किनार सुकुटेबाट लेकाली चियाबगान ओखरेनीसम्म पु¥याउन पर्यटन पूर्वाधारका काम शुरुआत गरेको छ ।

राजधानी काठमाडाँैसँग जोडिएको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालका अनुसार दुईवटा पदमार्ग, घरवास, सडक र धार्मिक क्षेत्रको पूर्वाधार निर्माणमा रकम खर्च गरिने छ । पर्यटकलाई ‘प्याकेज टुर’ गराउन १०१ र २०१ नम्बरबाट नामकरण गरी पदमार्ग निर्माणको काम शुरु गरिएको उहाँले बताउनुभयो । भोटेचौरदेखि चिसापानी हुँदै मेलम्चीसम्मको पदमार्गलाई १०१ र मेलम्चीदेखि गुफाडाँडासम्मलाई २०१ नामकरण गरिएको हो । पदमार्ग लामोलामो भएकाले बीचबीचमा वास बस्न घरबासको अवधारणा ल्याइएको छ ।

कोदारी राजमार्गसँग जोडिएको बाह्रबिसे नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । वडा नं ६ मा रहेको भयौलीकुण्डलाई व्यवस्थित बनाउन प्रदेश नं ३ सरकारले दिएको रकमसमेत गरी नगरपालिकाले रु ४५ लाख बजेट छुट्याएको छ । वडा नं ८ को घुँडेमा दृश्यावलोकन स्तम्भ र बुद्धपार्क निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ ।

नगर प्रमुख निम्फुञ्जो शेर्पाले भ्रमण वर्षलाई समेत ध्यान दिएर बजेट ल्याइएको बताउनुभयो । धार्मिकस्थल कालीञ्चोक जाने सडकमा गत गतवर्ष रु ३० लाख खर्च गरेको र यो वर्ष पनि कम्तीमा रु ५० लाख खर्च गर्ने लक्ष्य नगरपालिकाको छ । बाह्रबिसेबाट दोलखाको कालीञ्चोक पुग्ने सडक मध्य भागमा पुगेको छ । छोटो दूरी भएकाले सडक पूरा हुनसाथ यही बाटो भएर धार्मिक पर्यटकलाई कालीञ्चोक पु¥याउने योजना छ । बाह्रबिसेमा रहेको टुङटुङ गुफा र झरनामा ‘रक क्लाइम्बिङ’का लागि जर्मनी संस्थाले काम शुरु गरेको उहाँले बताउनुभयो । जिल्लाका अन्य नौ स्थानीय तहले पनि पर्यटन क्षेत्रमा ठूलै रकम छुट्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button