२०७८ साल माघ ८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक ऐन २०७६ संशोधन,कस्मेटिकजन्य बस्तुदेखि करका दरमा ठूलो परिवर्तन

रेडियो नेपाल २०७६ कार्तिक २७ गते ११:२७

काठमाडौँ । सरकारले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा ठूलो परिवर्तन गरेको छ ।गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आर्थिक ऐन २०७६ को दफा (१८) को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सरकारले ऐन संशोधन गरेकाे हो ।कुनै बस्तुको करका दरमा ५० प्रतिशत छुट गरिएको छ भने केही बस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । विगतमा भन्सार छुटमा आयात हुँदै आएको औद्योगिक बस्तुहरुमा ५ प्रतिशत भन्सार कर लागू गरिएको छ ।

कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालबस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । यसअघि मूल्यमा ५ प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत अन्तशुल्क लाग्ने जनाइएको छ । त्यस्तै फलाम वा इस्पातको सरसफाइ सम्बन्धी सामान र तिनका पार्टपूर्जामा ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिनुभयो  । यसअघि यी बस्तुमा अन्तशुल्क छुट थियो ।

व्यवसायिक प्रयोजनका लागि आयात हुने सुनमा प्रति १० ग्राममा ६ हजार ५०० रुपैयाँ भन्सार लाग्ने भएको छ । यसअघि प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा १ हजार ५ सय रुपैयाँ वृद्धि गरिएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक रुपमा आयात हुने चाँदीमा पनि भन्सार कर वृद्धि गरिएको छ । प्रति १० ग्राम ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा कात्तिक २५ गतेदेखि ७५ रुपैयाँ लगाइएको छ ।

उता, विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा पनि भन्सार वृद्धि गरिएको छ । पहिलो ६ हजार २ सय लाग्ने सुनमा अब ७ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने सुनमा ८५०० रुपैयाँ लाग्ने भएको छ । यस अघि ९ हजार रुपैयाँ लाग्दै आएको सुनमा अब १० हजार रुपैयाँ लाग्ने सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।कुखुराको चल्ला कोरल्नका लागि फूलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट गरिएको छ । यसले कुखुराको मासु र अण्डाको मूल्य घटाउन मद्दत गर्ने छ । त्यस्तै, फलफूल र तीनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्र भएको स्वदेशी वाइन बाहेक अन्य स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्तशुल्कको दरमा ३० प्रतिशत छुट गरिएको छ । यसले वाइनको मूल्य घटाउन सहयोग गर्नेछ । सरकारले तयारी रङ्ग उत्पादन गर्ने उद्योगहरुको कच्चा पदार्थको रुपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार कर लाग्दै आएकोमा उद्योगको नाममा पैठारी भएमा २० प्रतिशत मात्र भन्सार लाग्ने छ ।सरकारले व्यापारिक प्रयोजनका लागि पैठारी हुने भन्सार उपशीर्षक ७१.०८ मा पर्ने सुनमा प्रति १० ग्राममा लाग्ने महसुल दर रु ५,००० को सट्टा रु ६,५०० तथा भन्सार उपशीर्षक ७१.०६ मा पर्ने चाँदी प्रति १० ग्राममा लाग्ने महसुल दर रु ५६ को सट्टा रु ७५ कायम गर्ने भएको छ ।त्यस्तै आर्थिक ऐन २०७६ को भन्सार सम्बन्धी अनूसुची १ को दफा २ मा उल्लेखित विदेशबाट फर्किएर आएका यात्रुले आफ्नो साथमा ल्याएका सुन तथा सुनका गहनामा समेत महसुल दर निर्धाण गरिएको छ ।

 

सम्बन्धित